अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले इरानसँग भइरहेको आणविक सम्झौता सम्बन्धी वार्तामा सामान्य प्रगति भएको बताएका छन् ।
स्वीडेनको हेल्सिङबर्गमा आयोजित नेटोको बैठकपछि पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो भनेका हुन्। “इरानसँगको सम्झौतामा केही सानो प्रगति भएको छ, तर म यसलाई बढाइचढाइ गर्न चाहन्न,” रुबियोले भने।
“केही हल्का हलचल देखिएको छ र त्यो राम्रो कुरा हो,” उनले अगाडि भने । तर मूल विषय अझै परिवर्तन नभएकोमा उनले जोड दिएका छन्। उनका अनुसार इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्नु हुन्न भन्ने अमेरिकी नीति कायम छ। साथै अत्यधिक संवर्धित युरेनियमको विषय पनि प्रमुख समस्या रहेको उनले बताए।
वार्तासँग सम्बन्धित अर्को विषयमा उनले स्ट्रेट अफ हर्मुजको उल्लेख गरेका थिए। उनका अनुसार इरानले त्यहाँ टोल प्रणाली लागू गर्ने प्रयास गरिरहेको छ र ओमानलाई पनि त्यसमा सहभागी गराउन खोजिरहेको छ। विश्वको कुनै पनि देशले यस्तो प्रणाली स्वीकार गर्नु नहुनेमा रुबियोले जोड दिएका थिए।