आणविक कार्यक्रममा कुनै नयाँ कदम स्वीकार गरिएको छैन : इरान

आप्रवासन आप्रवासन

 

तस्निमले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेको छ, ‘इरानले हालको अवस्थामा आणविक क्षेत्रमा कुनै पनि कार्य स्वीकार गरेको छैन ।’ 

 रिपोर्टअनुसार मध्यस्थकर्तामार्फत भइरहेको सम्भावित सम्झौताअन्तर्गत समुद्री नाकाबन्दी र स्ट्रेट अफ होर्मुजसम्बन्धी कदम कार्यान्वयनका लागि ३० दिनको समय सीमा प्रस्ताव गरिएको छ । साथै आणविक मुद्दामा थप वार्ताका लागि ६० दिनको अवधि तय गर्ने तयारी गरिएको बताइएको छ । 

तस्निमले टेलिग्राममा छुट्टै रिपोर्ट प्रकाशित गर्दै होर्मुज नाका युद्धपूर्वको अवस्थामा नफर्किने जनाएको थियो । स्ट्रेटमाथि इरानले आफ्नो सार्वभौमिक अधिकार विभिन्न माध्यमबाट प्रयोग गरिरहने अडान कायम राखेको छ । 

यसको विस्तृत योजना पछि सार्वजनिक गरिने बताइएको छ । रिपोर्टमा भनिएको छ, ‘समझदारी अनुसार ३० दिनभित्र समुद्री नाकाबन्दी पूर्ण रूपमा हटाउनु पर्छ ।’ अमेरिकी नौसैनिक नाकाबन्दी हटाइएन भने स्ट्रेट अफ होर्मुजमा कुनै परिवर्तन नगर्ने चेतावनी पनि इरानले दिएको छ ।  तस्निमका अनुसार सम्भावित कुनै पनि प्रारम्भिक सम्झौताअन्तर्गत विदेशमा रोक्का गरिएका इरानी सम्पत्तिको केही हिस्सा पहिलो चरणमै फुकुवा गरिनुपर्ने माग पनि तेहरानले राखेको छ ।  विगतमा सम्झौता उल्लङ्घन भएको अनुभवलाई उल्लेख गर्दै इरानले यस पटक वास्तविक रूपमा प्रयोग गर्न सकिने गरी सम्पत्ति फिर्ता हुनुपर्ने सर्त अघि सारेको बताइएको छ ।