इरानका राष्ट्रपति मसूद पेजेस्कियानले कुनै पनि राष्ट्रिय निर्णय इरानी सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीको अनुमति बिना नहुने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबिच व्यापक स्तरमा कुराकानी भएको सम्भावित शान्ति सम्झौताको संकेत दिएको केही समयपछि उनका यो भनाइ आएको हो । इरानको सरकारी समाचार संस्था तस्निमका अनुसार अनुसार पेजेस्कियानले सबै निर्णयहरू इरानको संवैधानिक सुरक्षा निकाय ईरानको सर्वाेच्च राष्ट्रिय सुरक्षा परिषदको ढाँचाभित्र मात्र हुने स्पष्ट पारेका छन् । उनको भनाइले इरानको विदेश नीति र सुरक्षा सम्बन्धी निर्णयहरू सीमित संस्थागत संरचनाभित्र कडा नियन्त्रणमा रहने संकेत गरेको छ ।
इरानका वर्तमान सर्वाेच्च नेता मोज्तबा खामेनी सार्वजनिक रूपमा मार्चदेखि देखिएका छैनन । यसले उनको स्वास्थ्य र अवस्थाबारे विभिन्न अड्कलबाजी बढाएको छ । उनका पिता तथा पूर्व सर्वाेच्च नेता आयतुल्ला अली खामेनीको निधनपछि उनी नेतृत्वमा आएका थिए । यसअघि इरानी राज्य सञ्चारमाध्यमले खामेनीले एक वरिष्ठ सैन्य कमाण्डरसँग भेट गरेको जानकारी दिएको थियो । तर त्यस भेटको कुनै फोटो वा भिडियो सार्वजनिक गरिएको थिएन ।