इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु आफ्नो कानूनी अधिकार भएको बताएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्ला मोज्तबा खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले देशको राष्ट्रिय सुरक्षा सुनिश्चत गर्न स्ट्रेट अफ होर्मुजको व्यवस्थापन गर्नु इरानको कानूनी अधिकार भएको बताएका हुन् ।
‘इरानद्वारा होर्मुज जलडमरूमध्यको व्यवस्थापनले फारसी खाडी क्षेत्रमा ५० वर्षदेखिको असुरक्षाको अन्त्य गरेको छ,’ रेजाईको भनाईलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरुले समाचार छापेका छन् । फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे युद्ध शुरु गरेयता इरानले स्ट्रेट अफ होर्मुजलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
यसको प्रतिकारमा अमेरिकाले पनि इरानी बन्दरगाहमाथि प्रतिबन्ध लगाएका छन् । होर्मुज विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो । यहाँबाट विश्व बजारमा ठूलो परिमाणमा तेल ओसारपसार हुँदै आएको छ ।