भारतको राजधानी नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले वाशिङ्टनले कूटनीतिलाई पूर्ण मौका दिने तर आवश्यक परे 'अन्य विकल्प' पनि खुला राख्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूलाई वार्तामा कुनै पनि हतार नगर्न भनेपछि रुबियोको अभिव्यक्ति आएको हो ।
रुबियोका अनुसार हाल छलफलमा एक प्रारम्भिक प्रस्ताव टेबलमा छ, जसमा स्ट्रेट अफ होर्मेुज खोल्ने, आणविक मुद्दामा सीमित समयको गम्भीर वार्ता गर्ने र केही प्राविधिक समाधान खोज्ने विषय समावेश छन् । 'यदि राम्रो सम्झौता भयो भने ठीक छ, नभए हामी अन्य तरिकामा अघि बढ्छौं,' उनले भने । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार तत्काल कुनै सम्झौता सम्भव नरहेको बताएका छन् । उनका अनुसार केही प्रारम्भिक ढाँचा बने पनि ठोस सहमति नजिक पुगेको अवस्था छैन । उनले स्ट्रेट अफ होर्मुजको व्यवस्थापनबारे कुनै विशेष सहमति नभएको पनि उनले स्पष्ट पारेका छन् । इरानको तटवर्ती क्षेत्र भएकाले यसको नियन्त्रण र व्यवस्थापन क्षेत्रीय अधिकारभित्र पर्ने तेहरानको दाबी छ ।
यसैबिच अमेरिकी अधिकारीहरूले भने इरानले सैद्धान्तिक रूपमा स्ट्रेट अफ होर्मुज खोल्न र अत्यधिक संवर्धित युरेनियम हटाउन सहमति जनाएको दाबी गरेका छन् । उनीहरूका अनुसार यदि प्रारम्भिक ढाँचा लागु भयो भने ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य राखिएको छ । वार्ताको मुख्य विवादका विषयहरूमा इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा, जमेका तेल राजस्व फिर्ता, तथा इजरायल–हिजबुल्लाह द्वन्द्वको प्रभाव समावेश छन् । आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि भएको दाबी गर्दै इरानले युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार भएको बताउँदै आएको छ ।
एक दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै स्ट्रेट अफ होर्मुजमा इरानी जहाजहरूमाथि अमेरिकी नाकाबन्दी ‘सम्झौता नभएसम्म, यो प्रमाणित नभएसम्म र यसमा हस्ताक्षर नभएसम्म पूर्ण शक्ति र प्रभावकारी रहने भनेका थिए । दुवै पक्षले आफ्नो समय लिनुपर्ने असली स्थितिलाई सही बनाउनुपर्नेमा पनि उनले जोड दिएका थिए । अमेरिका र इरान शान्ति सम्झौताको नजिक पुगेको आशा बढ्दै जाँदा सोमबार तेलको मूल्य ५ प्रतिशतले घटेर दुई हप्ताको न्यूनतम बिन्दुमा पुगेको थियो ।
आप्रवासन