दक्षिणी लेबनानमा इजरायली आक्रमण तीव्र, तीन जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

इजरायलले दक्षिणी लेबनानका विभिन्न गाउँ तथा सहरहरूमा हवाई आक्रमण तीव्र बनाएको छ ।

 सोमबार बिहान गरिएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको लेबनानको राष्ट्रिय समाचार संस्था एनएनएले जनाएको छ । प्रतिवेदनअनुसार नबातियेह क्षेत्रमा पर्ने कफ्र रुम्मान–जर्माक राजमार्ग र जर्माक–खरदाली सडकमा गुडिरहेका तीनवटा सवारीसाधनलाई लक्षित गरी इजरायली ड्रोनले आक्रमण गरेको थियो । आक्रमणपछि क्षेत्रभर त्रास फैलिएको छ भने स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

यससँगै इजरायली सेनाले दक्षिणी लेबनानका १० गाउँका बासिन्दालाई तत्काल घर छोड्न आदेश दिएको छ । इजरायली सेनाका अरबी भाषी प्रवक्ता कर्णेल अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत ‘हिजबुल्लाहले युद्धविराम उल्लंघन गरेको’ आरोप लगाउँदै सेना ‘बल प्रयोग गर्न बाध्य भएको’ बताएका छन् । उनले सर्वसाधारणलाई गाउँबाट कम्तीमा एक हजार मिटर टाढा खुला स्थानमा जान चेतावनी दिएका छन् ।
इजरायलले नबातियेह अल–तहता, अल–लुइजेह, सज्द, ऐन काना, हारुफ, जिबदिन, कफ्र रेमान, डुवेइर, अदशित अल–शकिफ र मायदुन गाउँका बासिन्दालाई विस्थापित हुन आदेश दिएको हो ।

दक्षिणी सहर टायरमा पनि इजरायली आक्रमणबाट अरजौन नगरपालिकाभित्र रहेका दुई घर पूर्ण रूपमा ध्वस्त भएका छन् । उद्धार टोली घाइतेहरूको खोजी तथा उद्धारमा जुटेको बताइएको छ । त्यस्तै अल–मान्सौरी, सिद्दिकिन, जिबकिन, क्लायाआ, योहमोर अल–शकिफ, जावतार अल–शर्कियाह र अल–हानिया क्षेत्रमा पनि आक्रमण भएको समाचारमा उल्लेख छ । संवाददाताका अनुसार, जेइना खोद्रका अनुसार लगातार दोस्रो दिन पनि इजरायली ड्रोनहरू बेरुतको आकाशमा होभर गरिरहेका छन् । राजधानी बेरुत र दक्षिणी उपनगरमाथि कम उचाइमा उडिरहेका ड्रोनको आवाजले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

मार्च २ देखि पुनः सुरु भएको इजरायल–हिजबुल्लाह संघर्षमा हालसम्म तीन हजारभन्दा बढी मानिस मारिएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले सोमबार दक्षिणी लेबनानमा आफ्नो एक सैनिक मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहको ड्रोन आक्रमणमा ती सैनिक हताहत भएका हुन् । अमेरिकाको मध्यस्थतामा अप्रिल १७ मा लागू गरिएको युद्धविराम जुलाईसम्म लम्ब्याइएको भए पनि दक्षिणी लेबनान र बेरुतमा इजरायली सैन्य कारबाही रोकिएको छैन । यसैबीच लेबनानी राष्ट्रपति जोसेफ आओनले इजरायली सेना लेबनानबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने सर्तमा ‘सम्झौता गर्न नसकिने’ बताएका छन् ।

सन् २००० मा करिब दुई दशक लामो कब्जापछि इजरायली सेना लेबनानबाट फिर्ता भएको सम्झनामा जारी गरिएको वक्तव्यमा आउनले भने, ‘यस वर्षको मुक्ति दिवस अत्यन्त पीडादायी यथार्थबीच आएको छ, जसले लेबनानलाई थिचिरहेको छ ।’ उनले भने, ‘इजरायली आक्रमण रोकिएको छैन, र हाम्रो प्रिय दक्षिणी गाउँहरू अझै पनि पुनः कब्जाको पीडा भोगिरहेका छन् ।’

उता हेजबुल्लाह का प्रमुख नाइम क्वासामले इजरायलसँग प्रत्यक्ष वार्ता अस्वीकार गर्दै आफ्नो समूहले हतियार नत्याग्ने बताएका छन् । उनले ‘देशको सार्वभौमिकता सुनिश्चित गर्न नसक्ने सरकार रहिरहनुको अर्थ छैन’ भन्दै अमेरिकी प्रभावको आलोचना गरेका छन् । गत महिना लेबनान र इजरायलबीच अमेरिकाको मध्यस्थतामा ऐतिहासिक वार्ता सुरु भएको थियो । आगामी जुनको सुरुमा चौथो चरणको वार्ताको तयारी भइरहेको छ, जसअघि मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिमण्डलबीच बैठक हुने तय गरिएको छ ।