इरानका राष्ट्रपति मसूद पेजेस्कियानले देशभर इन्टरनेट सेवा पुनः सुचारु गर्न निर्देशन दिएका छन् । इरानको अर्ध–सरकारी समाचार एजेन्सी ‘मेहर’ ले सञ्चार मन्त्रालयका एक स्रोतलाई उद्धृत गर्दै राष्ट्रपतिले यस्तो आदेश जारी गरेको जनाएको छ ।
इन्टरनेटको अवस्था अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘नेटब्लक्स’ का अनुसार इरानमा पछिल्लो ८७ दिनदेखि इन्टरनेट सेवा लगभग पूर्ण रूपमा ठप्प पारिएको थियो । इजरायल र अमेरिकाले इरानका विभिन्न स्थानमा बमबारी गरिरहेका बेला सुरक्षाको कारण देखाउँदै इरानी अधिकारीहरूले यो ‘ब्ल्याकआउट’ लागू गरेका थिए ।
लामो समयसम्म इन्टरनेट बन्द हुँदा इरानी नागरिकहरूले युद्ध र सुरक्षासम्बन्धी जानकारी प्राप्त गर्न निकै सास्ती भोग्नुपरेको थियो । साथै, इन्टरनेटमा निर्भर रहेका हजारौं व्यवसायहरूमा ठूलो आर्थिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रपतिको यो नयाँ आदेशसँगै करिब तीन महिनादेखि सञ्चार सम्पर्कबाट टाढा रहेका इरानी जनताले राहत पाउने अपेक्षा गरिएको छ । यद्यपि, इन्टरनेट पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।