हान्टाभाइरस प्रभावित क्रुज जहाजबाट निस्किएका स्पेनी नागरिकमा संक्रमण

आप्रवासन आप्रवासन

 

स्पेनमा क्वारेन्टिनमा बसिरहेका एक जनामा हान्टाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति दक्षिण ध्रुव नजिक यात्रा गरेको क्रुज जहाज एमभी होन्डियसबाट उद्धार गरिएका स्पेनी नागरिकमध्ये एक हुन् । 

स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार संक्रमित व्यक्ति मे १० देखि म्याड्रिडस्थित गोमेज उल्ला केन्द्रीय रक्षा अस्पतालमा क्वारेन्टिनमा थिए ।  उनी जहाजमा देखिएको प्रारम्भिक संक्रमणपछि गरिएको निगरानीका क्रममा ‘निकट सम्पर्क’का रूपमा पहिचान भएका थिए । संक्रमण पुष्टि भएपछि बिरामीलाई अस्पतालको उच्चस्तरीय आइसोलेसन इकाईमा सारिएको छ, जहाँ विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ ।

योसँगै एमभी होन्डियसमा रहेका स्पेनी यात्रुहरूमध्ये संक्रमित हुने संख्या दुई पुगेको छ । यद्यपि स्पेन सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ । संक्रमण पहिलेदेखि लागू गरिएको आइसोलेसन तथा निगरानी प्रणालीभित्रै पत्ता लागेकोले हाल सर्वसाधारणका लागि जोखिमको स्तर नबढेको र महामारी नियन्त्रण रणनीतिमा परिवर्तन आवश्यक नभएको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ । हान्टाभाइरसको यो प्रकोप अप्रिलमा अर्जेन्टिनाबाट प्रस्थान गरेको एमभी होन्डियस जहाजसँग सम्बन्धित छ । 

जहाजमा यात्रा गरेका तीन यात्रुको मृत्यु भइसकेपछि विभिन्न देशका स्वास्थ्य अधिकारीहरूले संक्रमित व्यक्तिहरूको खोजी तथा निगरानी तीव्र पारेका छन् । अप्रिलको अन्त्यतिर दर्जनौँ यात्रुहरू दक्षिण अटलान्टिक महासागरस्थित दुर्गम टापु सेन्ट हेलेनामा जहाजबाट ओर्लिएका थिए । बाँकी यात्रुहरू मे महिनामा स्पेनको क्यानरी टापुमा अवतरण गरेर आ–आफ्ना देश फर्किए । पछि जहाजका केही चालक दल सदस्यहरू नेदरल्यान्ड्समा ओर्लिए । संक्रामक रोग विशेषज्ञहरूले आगामी दिनहरूमा थप संक्रमित फेला पर्न सक्ने चेतावनी दिएका छन् । ‘आगामी हप्ताभित्र थप व्यक्तिहरूमा संक्रमण पुष्टि भए कसैलाई पनि अचम्म लाग्ने छैन,’ संक्रामक रोग विशेषज्ञ तथा टोरन्टो विश्वविद्यालयका प्राध्यापक आइज्याक बोगोचले गत साता भनेका थिए ।