इरानमा अमेरिकी सैन्य कारबाहीपछि तेल बजारमा हलचल

आप्रवासन आप्रवासन

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । रक्षात्मक कारबाही भन्दै सैन्य अमेरिकी सेनाले दक्षिणी इरानमा आक्रमण गरेपछि मंगलबार एसियाली बजारमा प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुडको भाउ झन्डै २ प्रतिशतले बढेको हो ।

युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा अझै स्पष्ट सफलता नआएकै समयमा सो आक्रमण भएपछि लगानीकर्ता र ऊर्जा बजार दुवै उच्च सतर्कतामा पुगेका छन् ।

मंगलबार तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ९७ डलर ५६ सेन्टसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब १ दशमलव ५ प्रतिशत बढी हो । सोमबार भने ब्रेन्ट क्रुडको भाउ ७ प्रतिशतले घटेको थियो । तेलको अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुड पनि मंगलबार प्रतिब्यारेल ९१ डलर २५ सेन्टमा कारोबार भएको थियो ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड(सेनटकम)ले दक्षिणी इरानका केही रणनीतिक लक्ष्यमा आक्रमण गरेको जनाएको छ । ती लक्ष्यहरूमा जलक्षेत्रमा माइन बिछ्याउन खोजिरहेका डुंगा तथा मिसाइल प्रक्षेपण स्थलहरू समावेश थिए । अमेरिकाले यसलाई इरानी खतरा विरुद्ध आफ्ना सैनिकको सुरक्षाका लागि गरिएको कदम भनेको छ । इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बास र स्ट्रेट अफ होर्मुज आसपासका तटीय क्षेत्रमा विस्फोटको आवाज सुनिएको जानकारी दिएका छन् ।

तेहरानले युद्ध सुरु भएयता गैर–इरानी जहाजहरूको आवागमन लगभग रोकिदिएको छ । स्ट्रेट अफ होर्मुज विश्वको सबैभन्दा संवेदनशील ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुन्छ । यस अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि भइसकेको छ । यस क्षेत्रमा सयौं ट्यांकर र एलएनजी जहाजहरू महिनौँदेखि फसेका थिए ।तर पछिल्ला दिनहरूमा केही जहाजहरूले पुनः स्टे«ट पार गर्न थालेका छन् । जहाज ट्र्याकिङ तथ्यांकअनुसार पाकिस्तान, चीन र भारततर्फ गइरहेका तीन एलएनजी ट्यांकरहरूले स्ट्रेट पार गरिसकेका छन् । साथै इराकी तेल बोकेको एक सुपरट्यांकर पनि करिब तीन महिनापछि चीनतर्फ अघि बढेको छ ।

युद्ध अन्त्य गर्ने प्रयास

इरानका विदेशमन्त्री तथा मुख्य वार्ताकार सोमबार कतारको राजधानी दोहामा थिए, जहाँ कतारी प्रधानमन्त्रीसँग अमेरिका–इरान युद्ध अन्त्यबारे छलफल भएको थियो । दुवै पक्षले युद्ध रोक्ने प्रारम्भिक समझदारीपत्रमा प्रगति भएको बताएका छन् । सम्भावित सहमतिअनुसार युद्ध रोकिएपछि ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य राखिएको छ ।

जापानी सञ्चारमाध्यम निक्केइले मध्यपूर्वका एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै इरानले ३० दिनभित्र स्ट्रेट अफ होर्मुजमा बिछ्याइएका माइन हटाउने सम्भावना रहेको जनाएको छ । त्यसपछि सबै देशका जहाजहरू सुरक्षित रूपमा आवतजावत गर्न सक्नेछन् र इरानले ट्रान्जिट शुल्क उठाउन पनि बन्द गर्नेछ । व्यापारीहरू अहिले सम्भावित सम्झौताप्रति निकै आशावादी देखिएको केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले भनेका छन् । लामो समयदेखि रोकिएका तेल ट्याङ्करहरू फेरि सञ्चालनमा आउने अपेक्षाले बजारमा सकारात्मक संकेत दिएको उनले बताए । तर जोखिम अझै टरेको छैन । आईजीका बजार विश्लेषक टोनी साइकामोरले भने, ‘यो घटनाले सम्झौता अन्तिम क्षणमा फेरि भत्किन सक्ने खतरा अझै बाँकी रहेको संकेत दिएको छ ।'