इरान समर्थित ह्याकरहरूले लस एन्जलसको सार्वजनिक यातायात प्रणाली ह्याक गरेको दाबी

आप्रवासन आप्रवासन

 

मार्च महिनामा लस एन्जलसको सार्वजनिक यातायात प्रणालीमा भएको साइबर आक्रमणमा इरानी ह्याकरहरूको संलग्नता रहेको पाइएको इजरायली साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।

उक्त आक्रमणका कारण लस एन्जलस काउन्टीको महानगरीय यातायात प्राधिकरणले आफ्नो नेटवर्कका केही भाग बन्द गर्नुपरेको थियो । ग्याम्बिट सेक्युरिटी नामक तेल अभिभस्थित साइबर सुरक्षा कम्पनीका अनुसार सो घटनामा ह्याकरहरूले कम्तीमा ७०० गिगाबाइट बराबरको इमेल, ब्याकअप र अन्य फाइलहरू चोरी गरेका थिए ।

कम्पनीका अनुसार ती डाटा अनलाइनमा गल्तीवश सार्वजनिक भएपछि अनुसन्धान गर्दा आक्रमणको डिजिटल प्रमाण पहिले नै इरानसँग जोडिएको ह्याकिङ अभियानसँग मेल खाएको पाइएको हो ।

इरान समर्थक ‘अबाबिल अफ मिनाब’ नामक समूहले यस आक्रमणको जिम्मेवारी लिएको थियो । समूहको नाम इरानको मिनाब सहरमा एउटा विद्यालय १७५ जना छात्राको ज्यान जाने गरी भएको बम विस्फोटसँग सम्बन्धित रहेको बताइएको छ ।

अमेरिकी र इजरायली अनुसन्धानकर्ताहरूले यस्ता समूहहरूलाई इरानी साइबर गुप्तचर निकायसँग सम्बन्धित ‘कट–आउट’ सङ्गठन हुनसक्ने आरोप लगाउँदै आएका छन् । सो घटनाका ह्याकरहरूको इरानसँग सम्बन्ध रहेको आशङ्का पहिलेदेखि नै भए पनि अहिलेको अनुसन्धानले त्यसलाई समर्थन गर्ने फरेन्सिक प्रमाण उपलब्ध गराएको ग्याम्बिटका निर्देशक इयाल सेलाले बताएका छन् ।

लस एन्जलस काउन्टीको महानगरीय यातायात प्राधिकरण चाहिँ घटनाको अनुसन्धान जारी रहेकाले आक्रमणको स्रोतबारे अनुमान नगर्ने जनाएको छ । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले पनि घटनाबारे जानकारी रहेको र सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएको छ । 

मार्च १६ तिर पत्ता लागेको उक्त साइबर आक्रमणपछि रेल वा बस सेवा प्रत्यक्ष रूपमा अवरुद्ध नभए पनि यात्रु सूचना स्क्रिनहरू बन्द भएका थिए र ट्रान्जिट कार्डमा रकम जम्मा गर्ने प्रणाली प्रभावित भएको थियो ।