इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएपछि दक्षिणी र पूर्वी लेबनानमा व्यापक हवाई तथा रकेट आक्रमण हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मारिनेहरूमा बालबालिकासमेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हेजबुल्लाहविरुद्ध सैन्य कारबाही अझ कडा बनाउन निर्देशन दिएको केही दिनपछि यो आक्रमण भएको हो । इजरायली सेनाले १०० भन्दा बढी हेजबुल्लाहका पूर्वाधार, हतियार भण्डारण स्थल तथा लडाकुहरूलाई निशाना बनाएको दाबी गरेको छ ।
गत अप्रिलको मध्यतिर अमेरिकाको मध्यस्थतामा युद्धविराम भए पनि दुवै पक्षबाट लगातार उल्लङ्घन भइरहेको छ । यसले अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यसम्बन्धी जटिल वार्तालाई समेत प्रभावित बनाएको विश्लेषण गरिएको छ ।बुधबार बिहान उत्तरी इजरायलमा लेबनानबाट एउटा प्रक्षेप्य प्रहार भएपछि साइरन बजाइएको इजरायली सेनाले जनाएको छ । उक्त प्रक्षेप्य खुला क्षेत्रमा खसेको र कुनै मानवीय क्षति नभएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार हवाई आक्रमण विशेषगरी बेका उपत्यकास्थित मसघारा गाउँ र दक्षिणी लेबनानको बुर्ज अल–शामाली क्षेत्रमा केन्द्रित थियो । केही आक्रमण युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत करिब ९ सय वर्ष पुरानो ऐतिहासिक किल्ला ब्यूफोर्ट क्यासल आसपाससमेत भएको जनाइएको छ ।
सोमबार साँझ अरब सलीम नगरमा भएको आक्रमणमा एक दम्पतीको मृत्यु भएको थियो भने कौथारियेत एल रेज गाउँमा थप दुई जनाको ज्यान गएको लेबनानी राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ ।रातभर जारी आक्रमणमा मशघाराका धेरै घर ध्वस्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भग्नावशेषबाट एक महिला र दुई बालबालिकासहित ११ जनाको शव निकालिएको छ भने १५ जना घाइते भएका छन् ।
आक्रमणपछि मशघारा क्षेत्र प्रायः सुनसान बनेको छ । स्थानीय बासिन्दाहरूले इजरायली आक्रमणले सर्वसाधारणलाई समेत निशाना बनाएको आरोप लगाएका छन् । गाउँका एक स्थानीय अधिकारी अहमदले ‘म हेजबुल्लाहको सदस्य होइन, तर गाउँका धेरै मानिस प्रतिरोधको पक्षमा छन्, र इजरायलले कसैलाई बाँकी राखेको छैन,’ बताएका छन् ।
इजरायली सेनाले भने मशघारामा ‘हेजबुल्लाहका गतिविधि पहिचान भएका पूर्वाधार’ मा आक्रमण गरिएको र ‘आतंककारीहरू मारिएको’ दाबी गर्दै हवाई दृश्य सार्वजनिक गरेको छ । साथै दक्षिणी लेबनानभर हेजबुल्लाहले प्रयोग गर्ने ९० भन्दा बढी हतियार भण्डारण स्थल, कमाण्ड सेन्टर तथा निगरानी चौकी ध्वस्त पारिएको पनि जनाएको छ । हेजबुल्लाहले भने इजरायलले युद्धविराम तोडेकाले जवाफी कारबाहीस्वरूप उत्तरी इजरायलका तीन सैन्य ब्यारेक र एउटा सैनिक चौकीमा आक्रमण गरेको जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा इजरायली आक्रमणबाट कम्तीमा ३ हजार १८५ जनाको ज्यान गएको छ ।