अमेरिका र इजरायलले इरानमाथिको गरेको हमलाले विश्वव्यापी भोकमरीलाई ऐतिहासिक स्तरमा पुर्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार विश्वभर ३६३ मिलियन मानिस तीव्र खाद्य संकटको जोखिममा छन्, जसमा ४५ मिलियन मध्यपूर्वमा जारी द्वन्द्व र त्यसबाट उत्पन्न तेल मूल्यवृद्धिका कारण प्रभावित छन् । कार्यक्रमका कार्यवाहक प्रमुख कार्ल स्काउले सहायता कोषमा आएको ठुलो कटौतीका कारण संगठनले ‘भोकाहरूबाट लिएर अत्यन्त भोकाएकालाई दिनुपर्ने अवस्था’ आएको बताएका छन् ।
उनका अनुसार पछिल्लो वर्ष मात्र दातृ सहयोग एक तिहाइले घटेको छ, जसमा सबैभन्दा ठुलो दाता अमेरिका हो, जसको योगदान आधाभन्दा बढीले घटेको छ । इरानसँगको युद्धका कारण होर्मुज जलसन्धि बन्द हुनु र तेल मूल्य बढ्नुले खाद्य तथा यातायात खर्च दुवै बढाएको छ । यसले खाद्य आपूर्ति मात्र होइन, सहायता वितरण प्रणालीलाई पनि प्रभावित गरेको छ ।
स्काउका अनुसार सन् २०२५ मा गाजा र सुडानमा अनिकाल घोषणा गरिएको थियो, जुन दशकौँमा पहिलो पटक भएको घटना हो । हाल विश्वमा ३० करोडभन्दा बढी मानिस पहिले नै तीव्र भोकमरीमा थिए। तेल मूल्य १०० डलरभन्दा माथि रहँदा थप ४५ मिलियन मानिस जोखिममा पर्ने अनुमान गरिएको थियो । खाद्य सहायता ढुवानीमा पनि ठुलो समस्या देखिएको छ । अफगानिस्तानका लागि पठाइएको ८५ हजार टन खाद्य सामग्री महिनौँदेखि सीमामा रोकिएको, पुनः मार्ग परिवर्तन गर्दै टर्की र क्यास्पियन सागर हुँदै पठाउनुपरेको उल्लेख छ ।
सहयोग कोष पनि तीव्र रूपमा घटेको छ—सन् २०२४ मा ९.८ अर्ब डलरबाट २०२५ मा ६.५ अर्ब डलरमा झरेको छ । यसैबीच विश्वभरका सहायता आवश्यकताहरू भने १३ अर्ब डलरसम्म पुगेका छन् ।
विशेषज्ञहरूका अनुसार इरान युद्धका कारण रासायनिक मल आपूर्ति शृङ्खला पनि प्रभावित भएकाले आगामी महिनाहरूमा अफ्रिका र अन्य कमजोर क्षेत्रहरूमा कृषि उत्पादन घट्ने र भोकमरी अझ बढ्ने जोखिम छ । विश्व खाद्य कार्यक्रमले अहिलेको अवस्था ‘अत्यन्त गम्भीर र ऐतिहासिक स्तरको भोकमरी सङ्कट’ भएको चेतावनी दिएको छ ।