इजरायली सेनाले दक्षिणी लेबनानका विशाल क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै त्यहाँका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले जहरानी नदीभन्दा उत्तरतर्फ सर्न स्थानीयलाई आग्रह गर्दै हिजबुल्लाहविरुद्ध ‘अझ सशक्त सँग’ कारबाही गरिने चेतावनी दिएको हो ।
गत अप्रिल १७ मा लागू भएको युद्धविरामपछि यो सबैभन्दा ठुलो विस्थापन आदेश मानिएको छ । यस दक्षिणी क्षेत्रले लेबनानको करिब १४ प्रतिशत भूभागलाई समेटेको बताइएको छ । इजरायलले हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने हिजबुल्लाहले उल्टै इजरायलमाथि नै युद्धविराम तोडेको आरोप लगाएको छ ।
बुधबार इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गरेका थिए । उनले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताएका छन् ।
आईडीएफले पछिल्लो २४ घण्टामा नौवटा अलग–अलग खाली गर्ने चेतावनी जारी गरेको छ । यसले इजरायल–लेबनान सीमामा ठुलो सैन्य तनाव र पुनः व्यापक विस्थापनको खतरा बढाएको छ । तायर सहरका बासिन्दाले आक्रमणको त्रासबीच आफ्ना घर छाड्न थालेका छन् । स्थानीय बासिन्दा रिदाले बीबीसीसँग कुरा गर्दै ‘सबै जना डराएका छन्, मानिसहरूले सामान प्याक गरिरहेका छन्,’ भनेका छन् ।
जहरानी नदीको दक्षिण क्षेत्रमा पर्ने करिब ३०० गाउँ तथा सहर प्रभावित भएका छन् । तीमध्ये धेरै मानिस यसअघि नै दक्षिणी लेबनानका अन्य भागबाट विस्थापित भइसकेका थिए । राहतकर्मीहरूका अनुसार राजधानी बेरुतको दक्षिणमा रहेको सिडोन सहरले थप विस्थापितलाई धान्न नसक्ने अवस्था पुगेको छ । उनीहरूले सर्वसाधारणलाई पूर्वी क्षेत्रमा पर्ने बेका उपत्यका र माउन्ट लेबनानतर्फ जान आग्रह गरेका छन् ।
लेबनानी सञ्चारमाध्यमका अनुसार बुधबार दक्षिणी क्षेत्र र पूर्वी बेका उपत्यकामा पनि इजरायली हवाई आक्रमण भएका छन् । चौकिन र नाबाटियेह क्षेत्रमा कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ ।
यसअघि पछिल्लो २४ घण्टामा मात्रै इजरायलले दक्षिणी लेबनान र बेका क्षेत्रमा करिब ५० वटा गाउँ तथा सहरमा १५० भन्दा बढी हवाई आक्रमण गरेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै कम्तीमा ३१ जनाको मृत्यु भएको छ । टायर नजिकको बुर्ज अल–शामाली क्षेत्रमा मात्रै १५ जनाले ज्यान गुमाएका थिए ।
हिजबुल्लाहले बुधबार आफ्ना लडाकुहरूले लितानी नदीको उत्तरतर्फ पर्ने जावतार अल–शर्कियेह क्षेत्रमा इजरायली सेनासँग ‘नजिकबाट भिडन्त’ गरेको जनाएको छ । उक्त क्षेत्र इजरायलले घोषणा गरेको ‘बफर जोन’ बाहिर पर्छ ।
नेतान्याहुले मन्त्रिपरिषद् बैठकमा बोल्दै दक्षिणी लेबनानमा कब्जा गरिएको सीमावर्ती क्षेत्रमा सेना अझ गहिरोसम्म पुगेको बताएका छन् । ‘उत्तरी इजरायलका समुदायको सुरक्षा सुनिश्चित गर्न सुरक्षा क्षेत्र मजबुत बनाइँदैछ,’ उनले भने ।
अमेरिका, इजरायल र इरानबिच जारी युद्ध अन्त्यका प्रयासबिच यो तनावले कूटनीतिक वार्तालाई समेत प्रभावित पार्ने देखिएको छ । इरानले कुनै पनि सम्झौतामा लेबनानको विषय पनि समेटिनुपर्ने अडान राखेको छ भने इजरायलले हिजबुल्लाहबाट आउने खतरा समाप्त नभएसम्म कारबाही जारी रहने बताएको छ ।
गत मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनान युद्धमा तानिएको थियो । त्यसपछि इजरायलले लेबनानभर हवाई आक्रमण र स्थल आक्रमण सुरु गरेको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता कम्तीमा ३ हजार २१३ जनाको मृत्यु भइसकेको छ । इजरायलले भने आफ्ना २३ सैनिक र चार सर्वसाधारणको ज्यान गएको जनाएको छ ।