अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य बढेको छ । इरानको रिभोलुसनरी गाड्र्सले बन्दर अब्बास बन्दरगाह क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको बताएपछि कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो ।
लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभडिजमा उक्त दिन ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य ८ः४५ जीएमटीमा २ डलर ३८ सेन्ट डलर अर्थात् २ दशमलव ५२ प्रतिशतले बढेर प्रति ब्यारेल ९६ डलर ६७ सेन्टमा पुगेको थियो।
उता न्यूयाेर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) फ्युचर्स पनि २ डलर २४ सेन्ट अर्थात् २ दशमलव ५३ प्रतिशतले बढेर प्रति ब्यारेल ९० डलर ९२ सेन्टमा पुगेको छ।
यसअघि बुधबार भने अमेरिका–इरानबिच युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र स्ट्रेट अफ हर्मुज पुनः खुल्ने आशाका कारण दुवै प्रमुख सूचक ५ प्रतिशतभन्दा बढीले घट्दै एक महिनाकै न्यून स्तरमा पुगेका थिए ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग सम्झौता नजिक पुगेको भन्ने समाचार अस्वीकार गरेको केही घण्टापछि पश्चिम एशियामा तनाव पुनः चर्किएको छ ।
अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिक इरानी ड्रोन सञ्चालन केन्द्रमा आक्रमण गरेपछि इरानको रिभोलुसनरी गाड्र्सले अमेरिकी सैन्य अड्डामाथि जवाफी कारबाही गरेको जनाएको थियो ।
पीभीएम आयल एशोसियशनका विश्लेषक जोन इभान्सले हवाई आक्रमणको आदान–प्रदान नै वार्ताको भाषा बनेको देखिएको बताएका छन् । “जबसम्म सम्झौता हुने आशा कायम रहन्छ, मूल्य केही समय स्थिर रहन सक्छ । तर विश्वव्यापी तेल भण्डार घट्दै जाँदा र स्ट्रेट अफ हर्मुजमा अड्किएको एक अर्बभन्दा बढी ब्यारेल तेलको प्रभाव देखिन थालेपछि बजार पुनः दबाबमा पर्न सक्छ,” उनले भने ।
यसैबिच दुई वटा सुपरट्यांकर र एउटा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको जहाजले यस साता आफ्नो ट्रान्सपोंडर बन्द गरेर स्ट्रेट अफ हर्मुज पार गरेका छन्।
एलएसईजी र केप्लरको जहाज ट्र्याकिङ तथ्यांकअनुसार ती जहाज भारत र चीनतर्फ गइरहेका छन्। अमेरिकामा गत साता कच्चा तेलको भण्डार २८ लाख ब्यारेलले घटेको अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले जनाएको छ । तेल भन्डारमा आएको यो लगातार छैटौँ साप्ताहिक कमी हो।