इजरायल झनै आक्रामक, लेबनानमा १६ र गाँजामा चार बालबालिका सहित १० मारिए

आप्रवासन आप्रवासन

 

 इजरायलले दक्षिणी लेबनानमा आक्रमण तीव्र बनाएको छ । लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। 

आक्रमणसँगै इजरायलले दक्षिणी क्षेत्रका बासिन्दालाई ठुलो मात्रामा विस्थापित हुन आदेश दिएको छ । लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीका अनुसार बिहीबार बिहान सैडन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका छ जनाको इजरायली ड्रोन आक्रमणमा मृत्यु भएको हो । उक्त परिवार दक्षिणी क्षेत्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा उनीहरू लक्षित बनेका थिए ।

इजरायलले पछिल्ला दिनहरूमा दक्षिणी लेबनानभर बमबारी विस्तार गरेको छ । आवासीय क्षेत्र, सडक तथा नागरिक पूर्वाधारहरूमा लगातार हवाई आक्रमण भइरहेको बताइएको छ । लेबनानी सेनाले नाबातिएह क्षेत्रमा भएको इजरायली आक्रमणमा आफ्ना एक सैनिक मारिएको पुष्टि गरेको छ । पछिल्ला केही दिनयता दक्षिणी लेबनान र पश्चिमी बेका उपत्यकामा पनि सैनिकहरू लक्षित आक्रमणमा परिरहेका छन् ।

इजरायलले टायरसहित दक्षिणका धेरै भाग खाली गर्न आदेश जारी गरेको छ । सामाजिक सञ्जालमार्फत चिन्हित भवनहरूको सूची सार्वजनिक गर्दै बासिन्दालाई तत्काल जाह्रानी नदीभन्दा उत्तरतर्फ जान भनिएको छ । यो क्षेत्र लेबनान–इजरायल सीमाबाट करिब ४० किलोमिटर टाढा पर्छ ।

विस्थापन आदेशपछि हजारौँ मानिस घर छोड्न बाध्य भएका छन् । टायर शहरका धेरै क्षेत्र खाली भइसकेका छन् । स्थानीय बासिन्दाहरू निरन्तर बमबारीका कारण त्रसित अवस्थामा रहेको बताइएको छ ।

टायरबाट रिपोर्ट गर्दै पत्रकार ओबैदा हिट्टोले मध्यरातदेखि शहर र वरपरका क्षेत्रमा एक दर्जनभन्दा बढी आक्रमण भएको बताएका छन् । उनका अनुसार अधिकांश मानिस शहर छोडिसकेकाले टायर अहिले लगभग सुनसान बनेको छ ।

बुधबार राति इजरायली हवाई आक्रमणले टायरस्थित एक भवन र क्याफेमा आगलागी भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषभित्र घाइते तथा मृतक खोज्ने काम जारी राखेका छन् ।

इजरायली सेनाले आफूले हिजबुल्लाहको ‘पूर्वाधार’ लक्षित गरेको दाबी गरे पनि आक्रमणहरू बारम्बार नागरिक बस्ती र घना आबादी भएका क्षेत्रमा भइरहेको छ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिले इजरायलको व्यापक विस्थापन आदेश र शहरी केन्द्रहरूमा जारी आक्रमणले नागरिकहरूलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएको छ । सङ्गठनले यसले मानवीय सङ्कटलाई अझ गहिरो बनाएको जनाएको छ ।

बेरुतबाट रिपोर्ट गर्दै अल जजिराकी संवाददाता जेइना खोद्रले अमेरिकी मध्यस्थतामा गत महिना लागू भएको युद्धविराम प्रभावहीन बनेको बताइन्। उनका अनुसार कागजमा मात्र सीमित रहेको युद्धविरामले हिंसा रोक्न सकेको छैन। मार्चको सुरुदेखि सुरु भएको पछिल्लो द्वन्द्वयताकै सबैभन्दा भीषण बमबारी पछिल्ला तीन–चार दिनमा देखिएको उनले बताइन्।

यसैबिच अमेरिका मध्यस्थ रहेको इजरायल–लेबनान वार्ता बिहीबार पुनः सुरु हुने तयारी भइरहेको छ । प्रारम्भमा प्राविधिक छलफल हुने र जुनको सुरुवातमा व्यापक वार्ता अगाडि बढाइने भनिए पनि पछिल्ला सैन्य कारबाहीले कूटनीतिक प्रयासमाथि नै प्रश्न उठाएको छ।

स्थानीय बासिन्दाहरूले लेबनानी सरकारले वार्तामा अझ कडा अडान लिनुपर्ने माग गरिरहेका छन् । तर वर्तमान परिस्थितिमा त्यसको सम्भावना कम देखिएको बताइएको छ ।