इरान युद्ध लम्बिँदै जाँदा अमेरिकामा तीव्र रूपमा घट्दैछ तेल र पेट्रोल भण्डार

आप्रवासन आप्रवासन

 

 अमेरिकामा कच्चा तेल, पेट्रोल र डिजेलको भण्डार तीव्र रूपमा घट्दै गएको छ । इरानसँगको युद्ध लम्बिँदै जाँदा रणनीतिक भण्डारणमा राखिएको तेलमाथिको निर्भरता बढेको अमेरिकी तथ्याङ्कले देखाएको हो । सङ्घीय सरकारी तथ्यांकअनुसार मेमोरियल डे सप्ताहन्तअघि मात्र अमेरिकाको व्यावसायिक तथा आपत्कालीन भण्डारणमा रहेको कच्चा तेल र ऊर्जा उत्पादन १ करोड ७४ लाख ब्यारेलले घटेको छ ।

यससँगै मौसमी हिसाबले अमेरिकी तेल भण्डार सन २००३ पछिकै सबैभन्दा न्यून स्तरमा पुगेको बताइएको छ । ऊर्जा सूचना प्रशासन (ईआईए)को तथ्याङ्कले यो गिरावट देखाएको हो । ऊर्जा विश्लेषक एन्डी लिपोका अनुसार यस्तो दरमा लगातार भण्डार घटिरहनु दीर्घकालीन रूपमा सम्भव नहुने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रणनीतिक पेट्रोलियम भण्डार(एसपीआर)बाट पनि लगातार तेल निकालिरहेको छ । पछिल्लो एक सातामात्रै एसपीआरमा कच्चा तेल भन्डार ९१ लाख ब्यारेलले घटेको छ, जुन अघिल्लो साताको कीर्तिमान नजिक रहेको बताइएको छ ।

पछिल्ला दुई महिनामा मात्रै आपत्कालीन तेल भण्डार ५ करोड ब्यारेलले घटिसकेको छ । त्यस्तै, पेट्रोल भण्डार पनि तीव्र रूपमा घटिरहेको छ । गत साता अमेरिकाको पेट्रोल भण्डार सन २०१४ पछिकै मे महिनाको सबैभन्दा न्यून स्तरमा पुगेको थियो डिजेल तथा अन्य डिस्टिलेट इन्धनको भण्डार पनि सन २००३ पछिकै न्यून स्तरमा झरेको बताइएको छ ।