अपार्टमेन्टमा ड्रोन आक्रमण : युद्ध सुरु भएयताकै ‘सबैभन्दा गम्भीर’ घटना

आप्रवासन आप्रवासन

 

रोमानियाका राष्ट्रपति निकुसर डानले आफ्नो देशको भूमिमा हालै भएको ड्रोन घटनालाई रूस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर घटनाका रूपमा व्याख्या गरेका छन् । 

उनका अनुसार यो घटनापछि राष्ट्रिय रक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ । जसले अनुपातिक उपायहरूसम्बन्धी निर्णय गर्नेछ । बैठक स्थानीय समयअनुसार बिहान ११ बजे तय गरिएको छ ।

‘म अत्यन्त दृढताका साथ घोषणा गर्दछु कि यस घटनाको पूर्ण जिम्मेवारी रूसी सङ्घको हो,’ राष्ट्रपति डानले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भनेका छन् । घटनापछि रोमानियाली हवाई क्षेत्रमा ड्रोन देखिएपछि दुई वटा एफ–१६ फाइटिङ फल्कन लडाकु विमान परिचालन गरिएको थियो ।

राष्ट्रपतिका अनुसार नागरिक सुरक्षालाई जोखिममा पार्ने अवस्था हुन सक्ने भएकाले तत्कालै ड्रोन नष्ट गर्ने अनुकूल अवस्था थिएन । सहयोगी राष्ट्रहरूबाट थप एन्टी–ड्रोन क्षमताहरू तैनाथ गर्न औपचारिक रूपमा अनुरोध गरेको पनि उनले बताए । यस घटनाको बारेमा रूसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।