केन्याको उच्च अदालतले स्थगित गर्‍यो अमेरिकाको इबोला क्वारेन्टिन योजना

आप्रवासन आप्रवासन

 

 केन्याको उच्च अदालतले इबोला संक्रमणको आशंका लागेका अमेरिकी नागरिकलाई केन्यामा इबोला क्वारेन्टिनमा राख्ने अमेरिकाको योजनालाई अस्थायी रूपमा रोक्ने आदेश दिएको छ ।

यो सम्झौतासम्बन्धी मुद्दा पूर्ण रूपमा सुनुवाइ र टुंगो नलागेसम्म केन्याले उक्त योजना कार्यान्वयन गर्न नपाउने उच्च अदालतकी न्यायाधीश पाट्रिसिया न्याउन्डीले बिहीबार राति आदेश जारी गर्दै भनेकी हुन् । साथै, यस अवधिमा इबोलाबाट प्रभावित वा संक्रमित व्यक्तिहरूलाई देशमा प्रवेश गराउन पनि रोक लगाइएको छ ।

बिहीबार ह्वाइट हाउसले अमेरिकाले इबोलाबाट संक्रमित हुन सक्ने आफ्ना नागरिकहरूलाई क्वारेन्टिनमा राख्न केन्यामा एउटा सुविधा स्थापना गर्ने योजना बनाएको घोषणा गरेको थियो । संक्रमणका लक्षण देखिएमा अमेरिकी नागरिकहरूलाई अमेरिका नफर्काइने बरु उपचार वा आइसोलेसनका लागि तेस्रो देशमा पठाइने सो योजनामा थियो । यो निर्णयपछि केन्यामा कानुनी र सार्वजनिक स्तरमा व्यापक प्रश्न उठेको छ । केन्याको अधिकारवादी संस्था कातिबा इन्स्टिच्युटले बिहीबार नै अदालतमा निवेदन दायर गर्दै उक्त योजनालाई चुनौती दिएको छ ।

संस्थाले यसलाई गोप्य र एकपक्षीय रूपमा इबोला क्वारेन्टिन सुविधा स्थापना गर्ने प्रयास भन्दै यसले जीवन, स्वास्थ्य, निष्पक्ष प्रशासनिक प्रक्रिया, सार्वजनिक सहभागिता र संसदको निगरानी जस्ता संवैधानिक अधिकारमाथि गम्भीर असर पार्ने तर्क गरेको छ ।

न्यायाधीश न्याउन्डीले आफ्नो आदेशमा यस विषयमा तत्काल न्यायिक समीक्षा आवश्यक रहेको बताउँदै मुद्दा सुनुवाइ नभएसम्म कुनै पनि प्रकारको कार्यान्वयन नगर्न निर्देशन दिएकी छन् । यो मुद्दाको अर्को सुनुवाइ जुन २ तारिखका लागि तय गरिएको छ ।