कुवेत एयरपोर्टको नयाँ नियम: समयमै नपुगे टिकट भएर पनि उड्न नपाइने

संगम पहरी संगम पहरी

कुवेतमा कार्यरत हजारौं नेपाली श्रमिकका लागि महत्वपूर्ण सूचना आएको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलले जुन १ देखि लागू हुने गरी चेक–इन काउन्टर बन्द हुने समय परिवर्तन गरेको छ। नयाँ नियमअनुसार निर्धारित समयभन्दा ढिलो एयरपोर्ट पुगेका यात्रुले फ्लाइट गुमाउन सक्ने चेतावनी दिइएको छ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार अब GCC तथा अन्य अरब मुलुक जाने उडानका लागि चेक–इन काउन्टर उडान समयभन्दा १ घण्टा अगाडि बन्द हुनेछ। त्यस्तै नेपाल, भारत, फिलिपिन्स, श्रीलंका, बेलायतलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यका लागि चेक–इन काउन्टर उडानभन्दा १ घण्टा ३० मिनेट अगाडि नै बन्द गरिनेछ।

यो नियम विशेष गरी नेपाल आउने–जाने नेपाली श्रमिकका लागि निकै महत्वपूर्ण मानिएको छ। धेरै नेपाली अन्तिम समयमा एयरपोर्ट पुग्ने, लामो लाइनमा बस्ने वा ट्राफिकका कारण ढिला हुने समस्या झेल्ने गर्छन्। अब भने निर्धारित समय कटेपछि टिकट भए पनि चेक–इन गर्न नपाइने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

कुवेत विमानस्थलले यात्रुलाई समयभन्दा धेरै अगाडि नै एयरपोर्ट पुग्न आग्रह गरेको छ। चेक–इन, ब्यागेज, सुरक्षा जाँच र अध्यागमन प्रक्रिया पूरा गर्न अतिरिक्त समय लाग्न सक्ने भएकाले कम्तीमा ३ घण्टा अगाडि एयरपोर्ट पुग्न सुझाव दिइएको छ।

हाल कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन सुधार तथा उडान व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न नयाँ नियम लागू भइरहेका छन्। यही क्रममा चेक–इन काउन्टर बन्द हुने समय पनि कडा बनाइएको हो। अधिकारीहरूका अनुसार यो व्यवस्था यात्रु व्यवस्थापन सहज बनाउन र उडान समयमै सञ्चालन गर्न लागू गरिएको हो।

विशेष गरी बिदामा नेपाल फर्किने वा नयाँ श्रम सम्झौतामा कुवेत आउने नेपालीहरूले आफ्नो उडान समय, एयरलाइनको सूचना र चेक–इन समयबारे पहिले नै जानकारी लिनुपर्ने देखिएको छ। केही मिनेटको ढिलाइले पनि अब पूरा यात्रा प्रभावित हुन सक्ने भएकाले समय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरिएको छ।