लेबनानको भित्रसम्मै सैन्य कारबाही गर्न इजरायली सेनालाई नेतान्याहुको आदेश

आप्रवासन आप्रवासन

 

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाह विरुद्धको लडाइँमा लेबनानभित्र अझ गहिराइसम्म सैन्य कारबाही विस्तार गर्न सेनालाई आदेश दिएको बताएका छन् । छ हप्ताभन्दा बढी समयअघि युद्धविराम घोषणा भए पनि संघर्ष जारी छ ।

लेबनानमा भइरहेको युद्ध इरानसँगको द्वन्द्वको सबैभन्दा ठूलो क्षेत्रीय विस्तार बनेको छ । मार्च २ देखि हिज्बुल्लाहले आफ्नो सहयोगी इरानको समर्थनमा इजरायलतर्फ रकेट र ड्रोन आक्रमण गर्न थालेपछि इजरायली हवाई आक्रमण तथा सर्वसाधारणलाई स्थान खाली गर्न जारी गरिएका आदेशका कारण १२ लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित भएका छन् ।

लेबनानी सरकारका अनुसार हालसम्मको सैन्य कारबाहीमा ३ हजार ३७० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । उता इजरायलले सोही अवधिमा आफ्ना २४ सैनिक र ४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । साथै हिज्बुल्लाहका रकेट र ड्रोन आक्रमणका कारण उत्तरी इजरायलका दशौं हजार नागरिक पनि विस्थापित भएका छन् ।

९ सय वर्ष पुरानो किल्लामाथि इजरायली नियन्त्रण

इजरायली सेनाका अनुसार पछिल्लो सैन्य अग्रसरतामा सैनिकहरूले दक्षिणी लेबनानस्थित ९ सय वर्ष पुरानो ब्यूफोर्ट किल्ला र एक रणनीतिक पहाडी क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् । यो कारबाही अप्रिलमा भएको युद्धविरामपछि उत्तरी इजरायलमाथि हिज्बुल्लाहले गरेको सबैभन्दा तीव्र आक्रमणमध्ये एक भएको भोलिपल्ट गरिएको हो । उक्त आक्रमणपछि विद्यालयहरू बन्द गरिएका थिए र विभिन्न सुरक्षा प्रतिबन्धहरू लागू गरिएका थिए ।

प्रधानमन्त्री नेतान्याहुले विज्ञप्तिमार्फत भने, ‘मैले (सेनालाई) लेबनानमा आफ्नो भू सैन्य अभियान विस्तार गर्न निर्देशन दिएको छु,’ । लेबनानमा हिंसा चर्किँदै गएको भन्दै फ्रान्सले सोमबारका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग गरेको छ । फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा क्षेत्रीय सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।