अमेरिका–इरानबिच आक्रमणले तेल बजारमा त्रास, बढ्यो कच्चा तेलको भाउ

आप्रवासन आप्रवासन

 

इजरायलले इरान समर्थित हिज्बुल्लाहविरुद्धको युद्धमा आफ्ना सैनिकहरूलाई लेबनानभित्र अझ अगाडि बढ्न आदेश दिनुले पनि तेल बजारमा त्रास बढ्दा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।

ग्रिनविच समयअनुसार बिहान ४ः३६ बजे कच्चा तेलेको अमेरिकी बेञ्चमार्क डब्लुटीआई मूल्य प्रति ब्यारेल २ डलर २९ सेन्ट (२ दशमलव ६२ प्रतिशत)ले बढेर ८९ डलर ६५ सेन्टमा पुगेको थियो । उता, कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि २ डलर शून्य ५ सेन्ट अर्थात् २ दशमलव २५ प्रतिशतले बढेर प्रतिब्यारे ९३ डलर १७ सेन्टमा पुगेको थियो ।

गत शुक्रबार अमेरिकाले वासिङ्टनमा इजरायल–लेबनान शान्ति वार्ताको आयोजना गरेको केही समयपछि नै युद्धको अवस्था थप चर्किएपछि अमेरिका र इरानबीचको युद्धविराम सम्झौता विस्तार हुने अपेक्षामा कमी आएको छ । युद्धविराम विस्तार हुने आशाले शुक्रबार ब्रेन्ट र डब्लुटीआईको भाउ क्रमशः १ दशमलव ८ प्रतिशत र  १ दशमलव ७ प्रतिशतले घटेको थियो ।

अमेरिकाले आइतबार इरानको गोरुक क्षेत्र तथा केश्म टापुमा रहेका राडार तथा ड्रोन नियन्त्रण केन्द्रहरूमा आत्मरक्षात्मक आक्रमण गरेको जनाएको थियो । अमेरिकाका अनुसार ती आक्रमणहरू तेहरानका आक्रामक गतिविधिहरूको जवाफस्वरूप गरिएका थिए । 

जवाफमा इरानको इस्लामिक क्रान्तिकारी गार्ड कप्र्स (आईआरजीसी)ले सोमबार आफ्नो एरोस्पेस फौजले अमेरिकी सैन्य कारबाहीका लागि प्रयोग गरिएको एउटा हवाई अड्डालाई निशाना बनाएको दाबी गरेको छ । आईआरजीसीका अनुसार उक्त अमेरिकी आक्रमण इरानको सिरिक टापुमा रहेको दूरसञ्चार टावरविरुद्ध गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार अप्रिलको सुरुआतमा भएको युद्धविरामलाई थप समयका लागि विस्तार गर्ने प्रस्तावित सम्झौताबारे छिट्टै निर्णय गर्ने बताएका थिए । 

यस सम्झौताले वार्ताकारहरूलाई द्वन्द्वको स्थायी समाधान खोज्न तथा इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित मूल विवाद समाधानका लागि थप समय उपलब्ध गराउने अपेक्षा गरिएको थियो ।

तर यस्तो कुनै पनि सम्झौतामा इजरायलको महत्वपूर्ण भूमिका रहनेछ । इरानले पनि बारम्बार हिज्बुल्लाहलाई वार्ताको प्रक्रियामा समावेश गर्नुपर्ने बताउँदै आएको छ । एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले क्रमिक तनाव न्यूनीकरण योजना प्रस्ताव गरेको छ । यस योजनाअनुसार हिज्बुल्लाहले सर्वप्रथम इजरायलमाथिका आक्रमण रोक्नु पर्नेछ । त्यसको बदलामा इजरायलले बेरुतमा सैन्य गतिविधि थप बढाउने छैन ।

बजार विश्लेषक टोनी सिकामोरका अनुसार विश्व ऊर्जा बजार अहिले स्टे«ट अफ होर्मुजमा बिछ्याइएका बारुदी सुरुङ (माइन)हरूलाई लिएर चिन्तित छ । स्टे«ट अफ होर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक हो । सिकामोरले भने, ‘सम्झौता भए पनि बजारमा तेल आपूर्तिको ठूलो बाढी आउने छैन ।’ उनका अनुसार स्टे«ट पुनः सञ्चालन भए पनि पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्न सक्छ ।

गत शुक्रबार समाचार संस्था एक्सियोसका एक पत्रकारले सामाजिक सञ्जाल एक्समा इरानले उक्त जलडमरूमध्यमा थप बारुदी सुरुङहरू राखेको जानकारी दिएका थिए । 

यसअघि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले थप माइन बिछ्याउने प्रयास युद्धविरामको उल्लङ्घन हुने चेतावनी दिएका थिए । स्ट्रेट अफ होर्मुजमार्फत विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने गर्छ । फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले प्रभावकारी रूपमा यो जलमार्ग बन्द गरेको छ ।