रुसले लगायो हवाई इन्धन निर्यातमा प्रतिबन्ध

आप्रवासन आप्रवासन

 

 रूसले हवाई इन्धन (जेट फ्युल)मा रोक लगाएको छ ।

युक्रेनले रूसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) तथा ऊर्जा पूर्वाधारमाथि निरन्तर आक्रमण गरिरहेकै बेला सरकारले नोभेम्बर ३० सम्मका लागि हवाई इन्धनको निर्यात प्रतिबन्धित गरेको हो । रूसी सरकारले सोमबार जारी गरेको वक्तव्यमा घरेलु बजारमा इन्धनको आपूर्ति र मूल्य स्थिर राख्न यस्तो निर्णय गरिएको जनाएको छ ।

वक्तव्यमा भनिएको छ, ‘यस निर्णयको उद्देश्य घरेलु इन्धन बजारमा स्थायित्व सुनिश्चित गर्नु हो।’ रूसले मुख्यतः रेलमार्फत मध्य एसियाली देशहरूमा जेट इन्धन निर्यात गर्दै आएको छ । यसबाट विशेषगरी कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानजस्ता देशहरू प्रभावित हुन सक्नेछन् ।

रूसले यसअघि नै पेट्रोल निर्यातमा विभिन्न प्रतिबन्धहरू लागु गरिसकेको छ । यद्यपि डिजेल निर्यातमा भने अहिलेसम्म औपचारिक प्रतिबन्ध लगाइएको छैन । तर रूसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार सरकारले डिजेल निर्यातमा समेत नियन्त्रणका उपायहरूबारे विचार गरिरहेको छ ।

रोयटर्सले सार्वजनिक गरेको तथ्याङ्कअनुसार युक्रेनी ड्रोन आक्रमणका कारण रूसका धेरै रिफाइनरीहरूले उत्पादन घटाउन वा अस्थायी रूपमा बन्द गर्नुपरेको छ । आक्रमणका कारण अप्रिल महिनामा रुसको डिजेल उत्पादन करिब १० प्रतिशतले घटेको थियो ।

मेमा पनि उत्पादन थप १० प्रतिशतले घटेको छ । उत्पादनमा गिरावट आए पनि डिजेल निर्यात भने बढिरहेको तथ्यांकले देखाएको छ ।