अमेरिकाले चीनबाहिर रहेका चिनियाँ कम्पनीका सहायक संस्थाहरूलाई अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) चिप आपूर्ति हुने सम्भावित बाटो बन्द गर्न नयाँ कदम चालेको छ ।
अमेरिकी वाणिज्य मन्त्रालयले आइतबार जारी गरेको नयाँ निर्देशनअनुसार अब चीनमा मुख्यालय रहेका कम्पनीका विदेशी सहायक संस्थाहरूलाई पनि अत्याधुनिक एआई चिप निर्यात गर्न विशेष अनुमति (लाइसेन्स) आवश्यक पर्नेछ । यो निर्णय विशेषगरी एनभिडियाका अत्याधुनिक ब्ल्याकवेल प्रोसेसरहरूजस्ता चिपहरूलाई लक्षित गरेर ल्याइएको मानिएको छ ।
अमेरिकाले लामो समयदेखि चीनलाई उच्चस्तरीय एआई विकासका लागि आवश्यक सेमिकन्डक्टर चिप प्राप्त गर्नबाट रोक्ने प्रयास गर्दै आएको छ । तर हालै वासिङ्टनमा प्रसारित एक विश्लेषणात्मक दस्ताबेजले चीनबाहिर रहेका चिनियाँ कम्पनीका सहायक संस्थाहरूले मलेसियाजस्ता देशमार्फत अत्याधुनिक अमेरिकी चिप खरिद गरिरहेको सम्भावना औँल्याएको थियो ।
रोयटर्सले अवलोकन गरेको उक्त दस्ताबेजमा भनिएको छ, ‘बाढीका ढोका चुपचाप खुलेका थिए।’ दस्ताबेजमा लेखकको नाम उल्लेख गरिएको छैन । गत एक वर्षमा कति चिप यस्ता कम्पनीहरूसम्म पुगे भन्ने स्पष्ट छैन । तर आपूर्ति शृंखलाबारे गहिरो जानकारी भएका एक उद्योग स्रोतका अनुसार निर्यात भएका चिपहरूको संख्या सयौं हजार हुन सक्छ ।
नयाँ निर्देशनले के भन्छ ?
अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गत उद्योग और सुरक्षा ब्युरो (बीआईएस)ले अब चीनमा मुख्यालय भएका संस्थाहरूका लागि, उनीहरू चीनबाहिर भए पनि अत्याधुनिक एआई चिप निर्यातमा लाइसेन्स अनिवार्य हुने स्पष्ट पारेको छ । बीआईएसका प्रवक्ताले भने, ‘बीआईएसले सन २०२३ देखि लागु रहेको निर्यात अनुमतिसम्बन्धी आवश्यकतालाई स्पष्ट पार्ने निर्देशन जारी गरेको हो।’ उनले अझ अगाडि भने, ‘महत्त्वपूर्ण अमेरिकी प्रविधिको सुरक्षा सुनिश्चित गर्न बीआईएसले निर्यात नियन्त्रण कडाइका साथ लागु गर्न जारी राख्नेछ ।’
एनभिडियाका एक अधिकारीका अनुसार नयाँ निर्देशनले कम्पनीका लागि कुनै नयाँ परिवर्तन ल्याएको छैन । वाणिज्य मन्त्रालयले पहिले नै पत्रमार्फत एनभिडियालाई यस्ता चिप निर्यातका लागि लाइसेन्स आवश्यक हुने स्पष्ट जानकारी दिइसकेको उनले बताए । उता एआई चिप उत्पादक अर्काे प्रमुख कम्पनी एएमडीले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन ।
यो सम्भावित कमजोरी मे २०२५ मा उत्पन्न भएको मानिन्छ । त्यतिबेला अमेरिकी प्रशासनले तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालको अन्त्यतिर जारी गरिएको एआई डिफ्युजन नियम कार्यान्वयन नगर्ने निर्णय गरेको थियो । त्यो नियमले विश्वभर एआई चिपको पहुँचलाई नियमन गर्ने लाइसेन्स प्रणाली लागु गरेको थियो ।
प्रविधि तथा राष्ट्रिय सुरक्षाका विज्ञ तथा पूर्वअमेरिकी विदेश मन्त्रालय अधिकारी क्रिस म्याकगायरले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो निकै ठुलो समस्या थियो ।’ उनका अनुसार यस कमजोरीका कारण चीनका कम्पनीहरूको विदेशी सहायक संस्थाले लाइसेन्सबिना एनभिडियाका ब्ल्याकवेल चिप किन्न सकिरहेका थिए ।
‘चिनियाँ कम्पनीहरूले सम्भवतः ठुलो मात्रामा यी चिपहरू खरिद गरिरहेका थिए,’ उनले भने । म्याकग्वायरका अनुसार नयाँ निर्देशनले एउटा प्रमुख कमजोरी बन्द गरे पनि अर्को महत्त्वपूर्ण समस्या भने समाधान गरेको छैन । उनका अनुसार ताइवानको प्रमुख चिप निर्माता टीएसएमसी लगायतका फाउन्ड्री कम्पनीहरूलाई उनीहरूले उत्पादन गरिरहेका अत्याधुनिक एआई चिपहरू चिनियाँ आवरण (फ्रन्ट) कम्पनीका लागि हुन् कि होइनन् भन्ने विषयमा अतिरिक्त जाँच गर्नुपर्ने बाध्यता हटाइएको छ । टीएसएमसीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।