फ्रान्सेली नौसेनाले रुसी तेल बोकेको प्रतिबन्धित ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । पछिल्ला केही महिनामा यस प्रकारको जहाज नियन्त्रणमा लिइएको यो तेस्रो घटना हो ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँका अनुसार टागोर नामक तेल ट्याङ्करलाई एटलान्टिक महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बेलायतसहित अन्य साझेदार राष्ट्रहरूको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
म्याक्रोँले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय समुद्री कानुनको पूर्ण पालना गर्दै अन्तर्राष्ट्रिय जल क्षेत्रमा उक्त जहाज नियन्त्रणमा लिइएको हो,’ । जहाज अनुगमन सम्बन्धी विवरणअनुसार माडागास्करमा दर्ता भएको टागोर नामक कच्चा तेल ट्याङ्कर केही दिनअघि रुसको उम्बा बन्दरगाहबाट प्रस्थान गरेको थियो । उक्त जहाजमाथि युरोपेली सङ्घ, बेलायत र अमेरिकाले प्रतिबन्ध लगाइसकेका छन् ।
यस्ता जहाजहरू अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित छन् । राष्ट्रपति म्याक्रोँले समुद्री कानुन उल्लङ्घन गर्न तथा रुसले युक्रेनविरुद्ध सञ्चालन गरिरहेको युद्धलाई आर्थिक सहयोग पुर्याउन प्रयोग भइरहेको आरोप लगाएका छन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न, समुद्री कानुन उल्लङ्घन गर्न र रुसले चार वर्षभन्दा बढी समयदेखि युक्रेनविरुद्ध चलाइरहेको युद्धलाई आर्थिक स्रोत उपलब्ध गराउन जहाजहरू प्रयोग हुनु अस्वीकार्य छ ।’ उनका अनुसार समुद्री यातायातका आधारभूत नियमहरू समेत पालना नगर्ने यस्ता जहाजहरूले वातावरण र समुद्री सुरक्षामा गम्भीर जोखिम उत्पन्न गर्छन् ।
यता, रुसले भने फ्रान्सको कदमको कडा विरोध गरेको छ । रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले उक्त कारबाहीलाई गैरकानुनी भन्दै अन्तर्राष्ट्रिय डकैतीको सीमासम्म पुग्ने कार्यको संज्ञा दिएका छन् ।
उनले भने– ‘यो अन्तर्राष्ट्रिय डकैतीको सीमास
म्म पुग्ने खालको गैरकानुनी कार्य हो,’ । साथै उनले फ्रान्सले यो कदम अन्तर्राष्ट्रिय कानुनअनुसार चालेको भन्ने दाबीलाई अस्वीकार गर्दै भने– ‘यो कार्य अन्तर्राष्ट्रिय कानुनअनुसार गरिएको भन्ने दाबीमा हामी पूर्ण रूपमा असहमत छौँ,’
फ्रान्सस्थित रुसी दूतावासका अनुसार टागोरका कप्तान रुसी नागरिक हुनसक्ने विश्वास गरिएको छ । दूतावासले जहाजमा रहेका सम्भावित रुसी नागरिकबारे जानकारी माग्दै फ्रान्सेली अधिकारीहरूसँग सम्पर्क गरिसकेको भए पनि अहिलेसम्म कुनै जवाफ प्राप्त नभएको बताइएको छ ।
फ्रान्सले लामो समयदेखि रुसको तथाकथित छद्म जहाजविरुद्ध कडा कारबाहीको माग गर्दै आएको छ । पश्चिमी राष्ट्रहरूका अनुसार रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न सयौँ पुराना तेल ट्याङ्करहरूको सञ्जाल प्रयोग गर्दै आएको छ । यस्ता जहाजहरूमाथि प्रायः झुट्टा झन्डा प्रयोग गर्ने, बिना बिमा सञ्चालन हुने वा आवश्यक सुरक्षा प्रमाणपत्र बिनै समुद्रमा यात्रा गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
गत मार्चमा पनि फ्रान्सेली नौसेनाले भूमध्यसागरमा अर्को तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो, जसलाई राष्ट्रपति म्याक्रोँले रुसको छद्म जहाज भएको बताएका थिए । त्यतिबेला उनले यस्ता जहाजहरू नाफा कमाउन र रुसको युद्ध प्रयासलाई आर्थिक स्रोत उपलब्ध गराउन प्रयोग भइरहेको बताएका थिए ।
यसअघि जनवरीमा फ्रान्सले स्पेन र मोरक्को बिचको समुद्री क्षेत्रमा अर्को शङ्कास्पद ट्याङ्कर रोकेको थियो भने मार्चमा बेल्जियमले पनि नक्कली झन्डा र कागजात प्रयोग गरेको आशङ्कामा एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । उक्त कारबाहीमा फ्रान्सले सहयोग गरेको बताइएको छ ।