इरानका राष्ट्रपति मसुद पेजेशकियानले आफूले सास रहेसम्म आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् । उनले आफ्नो राजीनामाबारे इजरायल समर्थित एक सञ्चारमाध्यमले फैलाएको समाचारको प्रत्यक्ष खण्डन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
आइतबार मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै पेजेशकियानले भने– ‘म सास रहुन्जेल आफ्नो जिम्मेवारीमा रहनेछु । या त हामी दृढतापूर्वक अगाडि बढ्छौँ या सहिद हुन्छौँ । दुवै अवस्थामा त्यो हाम्रो विजय हुनेछ ।’
उनले आफ्नो जीवनको मूल्य दिवङ्गत सर्वोच्च नेता अली खामेनीकोको भन्दा बढी नरहेको उल्लेख गर्दै देशका समस्या समाधान गर्न सबैले सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । उनले भने– ‘हामी मैदानमा उपस्थित भएर समस्याहरू व्यवस्थापन गर्नुपर्छ । हामीले इमानदारीपूर्वक काम गर्नुपर्छ, अनि ईश्वरले अवश्य सहयोग गर्नुहुनेछ ।’
पेजेशकियानको यो अभिव्यक्ति इजरायल समर्थित टेलिभिजन नेटवर्क इरान इन्टरनेशनलले प्रसारण गरेको एक समाचारपछि आएको हो । उक्त सञ्चारमाध्यमले पेजेशकियानले इस्लामिक गणतन्त्रका सर्वोच्च नेताको कार्यालयमा पदबाट हट्ने इच्छा व्यक्त गर्दै पत्र पठाएको दाबी गरेको थियो ।
समाचारमा उनले सर्वोच्च नेताका रूपमा उल्लेख गरिएका मोज्तबा खामेनीको कार्यालयमा राजीनामा माग गर्दै पत्र पठाएको भनिएको थियो । तर इरानी सरकारले उक्त दाबीलाई तुरुन्तै अस्वीकार गरेको छ ।
सरकारकी प्रवक्ता फतेमेह मोहजेरानीले सरकारी समाचार संस्था आईआरएनएसँग कुरा गर्दै उक्त समाचारलाई अस्थिरता सिर्जना गर्ने प्रयासको हिस्सा भएको बताइन् । उनले भनिन्, ‘जब राष्ट्रिय एकता बलियो बन्छ र इरानी जनताले कठिन घडीमा एकजुट भएको देखाउँछन्, तब शङ्का, निराशा र अस्थिरता फैलाउने प्रयासहरू बढ्छन् ।’
प्रवक्ता मोहाजेरानीका अनुसार आइतबारको मन्त्रिपरिषद् बैठकको अध्यक्षता स्वयं राष्ट्रपति पेजेशकियानले गरेका थिए । बैठकमा उनले जनताको सेवा, राष्ट्रिय एकताको संरक्षण तथा देशका काम कारबाहीलाई निरन्तर अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए । उनका अनुसार पेजेशकियानले बैठकमा स्पष्ट रूपमा भने, ‘जनताले हामीलाई सुम्पिएको जिम्मेवारीबाट म पछि हट्ने छैन ।’
राजीनामाको हल्लालाई खण्डन गर्ने क्रममा पेजेशकियान आइतबार साँझ इरानका नायक नामक खेलकुद कार्यक्रमको समापन समारोहमा पनि सहभागी भएका थिए । १ करोडभन्दा बढी जनमतका आधारमा चयन गरिएका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्न आयोजित उक्त कार्यक्रममा उनको सक्रिय सहभागिताले उनी नियमित सरकारी तथा सार्वजनिक गतिविधिमा संलग्न रहेको देखाएको छ ।
इरानका सरकारी अधिकारीहरूले यस घटनालाई सरकारविरुद्ध भ्रम फैलाउने प्रयास भन्दै पेजेशकियान आफ्नो पदमा यथावत् रहेको बताएका छन् ।