अमेरिकी इबोला क्वारेन्टिन केन्द्रको योजनाविरुद्ध केन्यामा विरोध प्रदर्शन

आप्रवासन आप्रवासन

 

केन्याको मध्यभागस्थित नान्युकी शहरमा अमेरिकी सहयोगमा स्थापना गर्न लागिएको इबोला क्वारेन्टिन केन्द्रको विरोधमा सोमबार सयौँ स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् । 

केन्याको उच्च अदालतले गत शुक्रबार उक्त योजना अस्थायी रूपमा रोक्न आदेश दिएको भएपनि सो केन्द्र बनाउने तयारी जारी रहेको आशङ्काबिच प्रदर्शन भएको हो । अदालतमा दायर मुद्दामा प्रस्तावित केन्द्रले सार्वजनिक स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने तर्क गरिएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार लाइकिपिया काउन्टीस्थित वायुसेना अड्डामा ५० शय्याको क्वारेन्टिन केन्द्र स्थापना गर्ने योजना छ । यो केन्द्र इबोला भाइरसको सम्पर्कमा आएका तर लक्षण नदेखिएका अमेरिकी नागरिकहरूका लागि प्रयोग गरिने बताइएको छ ।

 केन्याका स्वास्थ्य मन्त्री एडेन डुएलले पनि यो परियोजना आपत्कालीन स्वास्थ्य प्रतिकार प्रणाली सुदृढ गर्ने व्यापक योजनाको हिस्सा भएको बताएका छन् ।

स्थानीय टेलिभिजन र प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरूले क्वारेन्टिन केन्द्र निर्माणको विरोध गर्दै नाराबाजी गरेका थिए । केही स्थानमा सडक अवरोध गरिएका थिए भने धुवाँसमेत देखिएको थियो ।

 प्रदर्शनस्थल वरिपरि सेना र प्रहरीको उपस्थिति बढाइएको थियो । ‘नान्युकी सानो सहर हो । सैनिक अड्डामा कार्यरत कर्मचारीहरू हामीसँगै बस्छन्, हाम्रा बालबालिका एउटै विद्यालयमा पढ्छन् । यदि कसैलाई सङ्क्रमण भयो भने त्यसको असर सबैमा पर्न सक्छ,’ प्रदर्शनका आयोजकमध्येका एक प्याट्रिक वाहोमले भने ।

यसैबिच, उडान अनुगमन सेवाका अनुसार अमेरिकी सैन्य लकहिड सी–१३० हर्कुलस विमान शुक्रबारसम्म पनि नान्युकी पुगेको देखिएको छ । स्थानीय बासिन्दाहरूले सप्ताहन्तभर सैन्य विमानहरू उक्त वायुसेना अड्डातर्फ उडेको देखेको बताएका छन्, यद्यपि ती सबै अमेरिकी विमान नै थिए भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।