इरानको क्षेप्यास्त्र आक्रमणपछि एउटा मालवाहक जहाजको छेउमा ठुलो प्वाल परेको भिडिओ सार्वजनिक भएको छ ।
इरानसँग आबद्ध फार्स न्युज एजेन्सीले सार्वजनिक गरेको भिडिओमा एमएससी कम्पनीको लोगो भएको पानीको सतह नजिकैको जहाजको भागमा ठुलो प्वाल देखिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सोमबार राति आफूहरूले क्रुज क्षेप्यास्त्र प्रयोग गरी ‘एमएससी सारिस्का’ नामक जहाजलाई निशाना बनाएको दाबी गरेको थियो ।
यसअघि क्षेत्रीय समुद्री गतिविधिमाथि निगरानी गर्ने युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)ले फारसी खाडीमा रहेको एक जहाजमाथि आक्रमण भएको जनाएको थियो, उक्त स्थान उम्म कासर बन्दरगाहबाट करिब ४० समुद्री माइल दक्षिण–पूर्वमा पर्दछ ।
यूकेएमटीओका अनुसार जहाजमा दुई वटा विस्फोट भएका थिए र त्यसपछि आगलागी भएको थियो । पछि आगो नियन्त्रणमा ल्याइएको थियो ।
संस्थाले जहाजको नाम सार्वजनिक नगरे पनि जहाजको अवस्थिति निगरानी गर्ने तथ्यांकले एमएससी सारिस्का भि सोही क्षेत्रमा रहेको देखाएको छ । घटनामा कुनै पनि चालकदल सदस्य घाइते नभएको यूकेएमटीओले जनाएको छ ।
इरानको रिभोलुसनरी गार्डले भने उक्त जहाजलाई अमेरिकी–इजरायलीसँग सम्बन्धित भन्दै निशाना बनाएको दाबी गरेको छ, तर स्वतन्त्र रूपमा उपलब्ध जहाज दर्ता तथा समुद्री तथ्यांकले जहाज पनामाली झण्डा बोकेको एमएससीको कन्टेनर जहाज भएको देखाएको छ ।
अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन् र त्यस क्षेत्रमा आवतजावत गर्ने अन्य जहाजहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।