अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक हाई स्कुलको ग्र्याजुएसन समारोहपछि भएको गोलीकाण्डमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । घटना फेयरफिल्ड हाई स्कुलको पार्किङ क्षेत्रमा बुधवार साँझ करिब ७ः१५ बजे भएको हो ।
प्रहरीका अनुसार त्यही परिसरमा सेम येटो हाई स्कुलको ग्र्याजुएसन समारोह चलिरहेका बेला आक्रमण भएको थियो । प्रहरीका अनुसार घाइतेमध्ये सबैभन्दा कान्छो पीडित ११ वर्षका बालक हुन् । अन्य घाइतेहरू २० र २५ वर्षका वयस्क रहेका छन् । घटनामा घाइते भएका १८ वर्षीय एक युवकको पछि मृत्यु भएको पुष्टि गरिएको छ ।
यससँगै मृतकको सङ्ख्या तीन पुगेको छ । स्थानीय बासिन्दा र उपस्थित व्यक्तिहरूका अनुसार फोटो खिच्ने क्रममा अचानक गोली चलेपछि कार्यक्रममा ठुलो भागदौड मच्चिएको थियो ।
एक प्रत्यक्षदर्शीका अनुसार गोली चलेलगत्तै मानिसहरू चिच्याउँदै पार्किङ क्षेत्रबाट भागेका थिए । नजिकै बस्ने स्थानीय बासिन्दाहरूले पनि लगातार गोलीको आवाज सुनेको बताएका छन् ।
फेयरफिल्ड प्रहरी विभागले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । हालसम्म अधिकारीहरूले आक्रमणकारीको पहिचान सार्वजनिक गरेका छैनन् । तत्कालका लागि समुदायमा कुनै थप खतरा नरहेको बताइएको छ ।
फेयरफिल्ड–सुइसुन संयुक्त विद्यालय जिल्लाले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारहरूप्रति सहानुभूति जनाएको छ । अधिकारीहरूले थप जानकारी प्राप्त भएपछि विवरण सार्वजनिक गरिने बताएका छन् ।
आप्रवासन