अर्जेन्टिनामा हजारौँ मानिसहरूले लैङ्गिक हिंसाको अन्त्यको माग गर्दै देशव्यापी प्रदर्शन गरेका छन् । उक्त देशमाऔसत हरेक ३० घण्टामा एक महिलाको हत्या हुने तथ्यबिच, महिलामाथि हुने हिंसाविरुद्ध जनआक्रोश झन् चुलिएको हो ।
प्रदर्शनहरू १४ वर्षीया बालिका अगोस्टिना भेगाको क्रुर बलात्कार र हत्यापछि सुरु भएका हुन् । उनी बेपत्ता भएको एक हप्ता पछि मृत अवस्थामा फेला परेकी थिइन् ।
यस घटनाले अर्जेन्टिनाभर व्यापक आक्रोश फैलाएको छ भने नागरिकहरूले महिला सुरक्षा र लैङ्गिक हिंसाविरुद्ध कडा कानुनी कारबाहीको माग गरिरहेका छन् ।
यो घटना व्यक्तिगत त्रासदी मात्र नभई अर्जेन्टिनामा लामो समयदेखि चल्दै आएको लैङ्गिक हिंसाविरुद्धको ऐतिहासिक संघर्षसँग पनि जोडिएको छ ।
ऐतिहासिक आन्दोलनहरूको पृष्ठभूमि
अर्जेन्टिनामा यस प्रकारका आन्दोलनहरूको सबैभन्दा ठुलो मोड सन् २०१५ मा सुरु भएको ‘नि उना मेनस’ (यस्तो कसैलाई नगरियोस्) आन्दोलन हो । यो आन्दोलन किशोरी सियारा पेजको हत्यापछि सुरु भएको थियो, जसले देशभर ठुलो प्रदर्शनको लहर ल्यायो र लैङ्गिक हिंसा तथा फेमिसाइड (महिला हत्या) विरुद्ध जनचेतना जगायो ।
त्यसपछि यो आन्दोलन अर्जेन्टिनाबाट विस्तार हुँदै सम्पूर्ण ल्याटिन अमेरिकामा फैलियो, जहाँ यो ‘महिलामाथिको हिंसा अन्त्य गर’ भन्ने प्रमुख नारा बनेको सामाजिक अभियानका रूपमा स्थापित भयो ।
सन् २०१६ देखि २०१८ सम्म अर्जेन्टिनामा बारम्बार विशाल प्रदर्शनहरू भएका थिए, जसमा हजारौंदेखि लाखौंसम्म मानिसहरू सडकमा उत्रिएर न्याय, सुरक्षा र सरकारी जिम्मेवारीको माग गरेका थिए ।
क्षेत्रीय प्रभाव र निरन्तर संघर्ष
नि उना मेनस आन्दोलन पछि यो आन्दोलन मेक्सिको, चिली, पेरु, कोलम्बिया लगायत ल्याटिन अमेरिकाभर फैलियो । जसले महिला हिंसाविरुद्ध क्षेत्रीय स्तरको एकीकृत आन्दोलनको रूप लिएको थियो ।
विश्लेषकहरूका अनुसार यी आन्दोलनहरूले ‘फेमिसाइड’ शब्दलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउँदै राज्यलाई कानुनी र नीतिगत सुधार गर्न दबाब दिएका छन् । तर, दशक बितिसक्दा पनि अर्जेन्टिनामा महिला हिंसा अझै गम्भीर समस्या बनेको छ ।
अहिलेको आक्रोश
अगोस्टिना भेगाको हत्यापछि सुरु भएको पछिल्लो प्रदर्शनले फेरि एकपटक त्यही ऐतिहासिक माग दोहोर्याएको छ । उनीहरू भन्दैछन्, महिलामाथिको हिंसा रोक, न्याय सुनिश्चित गर र राज्यको संरक्षण प्रणालीलाई बलियो बनाउ ।
यसपटकको आक्रोशको केन्द्रमा १४ वर्षीया अगोस्टिना भेगा को हत्या छ, जुन अर्जेन्टिनाको मध्य शहर कोर्डोबा मा भएको हो । उनी मे २३ को रात परिवारका एक साथीको घर पुगेकी थिइन्, जहाँ उनले आफ्नी आमाका लागि उपहार लिन गएकी थिइन् भन्ने आकंलन गरिएको छ । तर प्रारम्भिक पोस्टमार्टम रिपोर्टअनुसार उनलाई त्यहाँ यौन हिंसा गरियो र झुन्ड्याएर हत्या गरियो । उनको शवलाई भान्साको चक्कुले टुक्रा पारिएको थियो ।
उनको बेपत्ता भएको एक हप्ता पछि शनिबार उनको शरीर स्थनीय सहर डल–निकासको नालीमा फेला परेको थियो । त्यस समय उनको गृह नगरमा गरिएका शोकसभाहरू प्रहरीसँगको झडपमा परिणत भएका थिए ।
३ जुन मा परेको नि उना मेनसको वार्षिकी दिन फेरि यो घटनाले देशभर व्यापक प्रदर्शन फैलिएको छ । यसले दोषीमाथि कारबाहीको मागलाई अझ तीव्र बनाएको छ भने राष्ट्रपति जेभियर मिलेइ विरुद्धको आलोचना थप चर्किएको समाचारमा उल्लेख छ ।