अमेरिकी प्रतिनिधिसभाले युक्रेनलाई अर्बौँ डलरको सैन्य सहायता दिने र रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नै रिपब्लिकन पार्टी नेतृत्वको स्पष्ट विरोधका बिच यो विधेयक पारित भएको हो।
प्रतिनिधिसभामा भएको मतदानमा विधेयकको पक्षमा २२६ मत र विपक्षमा १९५ मत परेको थियो। यस विधेयकले रूसको तेल तथा ग्यास क्षेत्रमाथि कडा प्रतिबन्ध लगाउने, साथै रुसका बैंक, खानी तथा सरकारी संस्थामाथि आर्थिक दबाब बढाउने व्यवस्था गरेको छ।
विधेयक पारित गर्ने क्रममा १८ जना रिपब्लिकन सांसदहरूले आफ्नै पार्टी नेतृत्वको लाइन तोड्दै विपक्षी डेमोक्रेटहरूसँग मिलेर पक्षमा मतदान गरेका छन्। यसलाई ट्रम्प प्रशासनको रुस नीति र रिपब्लिकन पार्टीभित्र बढ्दो मतभेदको स्पष्ट सङ्केतका रूपमा हेरिएको छ। प्रतिनिधिसभाका सभामुख माइक जोनसनले पार्टी सदस्यहरूलाई विधेयकको विरोध गर्न आग्रह गरेका थिए। राष्ट्रपति ट्रम्पलाई रुससँग वार्ता अघि बढाउन पर्याप्त समय दिनुपर्ने उनको भनाइ थियो।
तर अन्ततः विपक्षी सांसदहरूको पहल र बहुमत समर्थनका कारण विधेयक अगाडि बढाइयो। क्यालिफोर्नियाका रिपब्लिकन सांसद केभिन काइलीलगायत केही सांसदहरूले हस्ताक्षर सङ्कलन गरेर नेतृत्वको अनुमति बिना नै विधेयकलाई मतदानको प्रक्रियासम्म पुर्याएका थिए।
विश्लेषकहरूका अनुसार प्रतिनिधिसभामा विधेयक पारित भए पनि यसको भविष्य अब सिनेटमा निर्भर हुनेछ। सिनेटमा विधेयक पारित गराउन आवश्यक ६० मतको समर्थन जुटाउन कठिन हुन सक्ने अनुमान गरिएको छ। यदि सिनेटबाट पनि यो विधेयक पारित भएमा युक्रेन–रुस युद्ध सुरु भएयता अमेरिकी कंग्रेसको सबैभन्दा ठुलो हस्तक्षेपमध्ये एक हुनेछ। यसले ट्रम्प प्रशासनको रुस नीति र रिपब्लिकन पार्टीभित्रको रणनीतिक विभाजनलाई अझ स्पष्ट बनाएको छ।