दूषित खानाका कारण विश्वभर हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ।
डब्लुएचओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकाहरू दूषित खानाबाट हुने रोगको उच्च जोखिममा छन् । विश्व जनसङ्ख्याको केवल ९ प्रतिशत मात्रै पाँच वर्षमुनिका बालबालिका भए पनि खाद्यजन्य रोगको झन्डै एक–तिहाइ यिनीहरूमा पाइएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाका अनुसार पाँच वर्षमुनिका बालबालिकाहरू अन्य उमेर समूहका मानिसहरूको तुलनामा दूषित खानाबाट बिरामी पर्ने सम्भावना झन्डै तीन गुणा बढी छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले खाद्य सुरक्षा कुनै अमूर्त विषय नभई हरेक परिवार र दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका छन्।
प्रतिवेदनमा ब्याक्टेरिया, भाइरस र परजीवीजस्ता जैविक कारकहरूले अधिकांश खाद्यजन्य रोग निम्त्याउने उल्लेख गरिएको छ । यद्यपि रासायनिक प्रदूषणका कारण हुने मृत्युको अनुपात अत्यधिक रहेको पाइएको छ । सन २०२१ मा खाद्यसम्बन्धी कुल मृत्युको ७३ प्रतिशत रासायनिक जोखिमसँग सम्बन्धित रहेको डब्लुएचओले जनाएको छ।
विशेष गरी अकार्बनिक आर्सेनिक र सिसा (लेड)का कारण हृदय रोग तथा क्यान्सरको जोखिम बढेर १० लाखभन्दा बढी मृत्यु भएको अनुमान गरिएको छ।
प्रतिवेदनले असुरक्षित खानाको आर्थिक असर पनि गम्भीर रहेको जनाएको छ। सन २०२१ मा खाद्यजन्य रोगका कारण विश्वभर करिब ३१० अर्ब अमेरिकी डलर बराबरको उत्पादनशीलता नोक्सान भएको अनुमान गरिएको छ । जीवनयापन लागतअनुसार समायोजन गर्दा यो रकम ६४७ अर्ब डलर पुग्ने बताइएको छ।
क्षेत्रीय रूपमा अफ्रिका र दक्षिणपूर्वी एसियामा खाद्यजन्य रोगको भार सबैभन्दा बढी रहेको छ। यी दुई क्षेत्रमा विश्वका करिब तीन–चौथाइ खाद्यजन्य बिरामी र ६० प्रतिशत मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
जलवायु परिवर्तन, एन्टिमाइक्रोबियल रेसिस्टेन्स तथा खाद्य प्रणालीमा रहेको असमानताले जोखिम झन् बढाइरहेको डब्लुएचओले जानकारी दिएको छ। सरकारले खाद्य सुरक्षा नियम, निगरानी प्रणाली र रोकथामका उपायहरूलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।