इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते

आप्रवासन आप्रवासन

 

 इजरायली सेनाको गोली लागेर वेस्ट बैंकको हेब्रोन सहरमा एक सात महिनाका प्यालेस्टाइनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार साँझ हेब्रोन सहरको दक्षिणमा पर्ने तेल रुमेइदा क्षेत्रमा यो घटना भएको हो।

स्वास्थ्य मन्त्रालयले मृतक शिशुको पहिचान साम फहद अबु हैकलका रूपमा गरेको छ। गोली लागेर शिशुको घटनास्थलमै मृत्यु भएको थियो भने उनका आमाबुबालाई मध्यम प्रकृतिको चोट लागेको छ।

शिशुकी हजुरआमाका अनुसार उनको परिवार चेकिङ प्वाइन्ट १७ नजिकै गाडी चलाएर जाँदै गर्दा केही दूरीमा इजरायली सैन्य गाडी र सैनिकहरू देखेपछि उनीहरूले गाडी रोकेका थिए। गाडी रोकेकै अवस्थामा सैनिकहरूले उनीहरूको दिशातिर गोली चलाएका थिए, जसलाई सुरुमा परिवारले चेतावनीका लागि चलाइएको गोली ठानेका थिए।

शिशुकी हजुरआमाले घटनाको वीभत्स रूपबारे बताउँदै भनिन्, ‘एउटा गोली मेरो नातिलाई लाग्यो, जसले उसको अनुहार र टाउको छेड्दै आमाको गाला भित्र पस्यो र त्यहीँ अड्कियो।’ उक्त गोलीले बुबाको औँलालाई पनि सामान्य छोएको र घाइते आमाको अहिले अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिइन्।

यस विषयमा इजरायली सेनाले शुक्रबार हेब्रोन क्षेत्रमा सैन्य अपरेसनका क्रममा सैनिकहरूले एउटा गाडी तीव्र गतिमा आफूतिर आउँदै गरेको देखेको दाबी गरेको छ। गाडी तीव्र गतिमा आएपछि आत्मरक्षाका लागि भन्दै एक सैनिकले उक्त सवारी साधनलाई लक्षित गरी गोली चलाएको सेनाको भनाइ छ। उक्त घटनामा तीन जना प्यालेस्टाइनी घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इजरायली सेनाले स्वीकार गरेको छ।

सैन्य टोलीले गरेको प्रारम्भिक छानबिनबाट गोली लागेर घाइते तथा मृत्यु हुनेहरू घटनामा संलग्न नभएका ‘निर्दोष नागरिक’ भएको पुष्टि भएको छ। इजरायली सेनाले यस घटनाको गम्भीर समीक्षा भइरहेको र अन्तिम प्रतिवेदन सम्बन्धित उच्च अधिकारीहरूलाई बुझाइने स्पष्ट पारेको छ।

घटना भएको तेल रुमेइदा क्षेत्र हेब्रोनको यस्तो संवेदनशील ठाउँ हो जहाँ प्यालेस्टाइनी बासिन्दाका बिचमा इजरायली बस्तीहरू रहेका छन् र उनीहरूलाई इजरायली सेनाले कडा सुरक्षा दिने गर्दछ। यसकारण पनि यो क्षेत्र इजरायल नियन्त्रित वेस्ट बैंकमा लामो समयदेखि हिंसाको केन्द्र बन्दै आएको छ।

सन् २०२४ को युरोपेली सङ्घको प्रतिवेदन अनुसार ३० लाखभन्दा बढी प्यालेस्टाइनीहरू बसोबास गर्ने पूर्वी जेरुसेलम र वेस्ट बैंक क्षेत्रमा अहिले ७ लाखभन्दा बढी इजरायली बस्तीका मानिसहरू बसिरहेका छन्। -रोयटर्स