युक्रेन–रुसबिच फेरि आक्रमण

आप्रवासन आप्रवासन

 

युक्रेन र रुसबिच फेरि घातक हवाई आक्रमणहरू भएको छ । जसले युद्ध विरामका लागि भइरहेका कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा युरोपेली नेताहरूसँग भेट गरेको केही घण्टापछि नै दुवै पक्षले एक–अर्कामाथि आक्रमण गरेका हुन् । युक्रेनको दक्षिणपूर्वी क्षेत्र झापोरिज्जियामा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। क्षेत्रीय गभर्नरका अनुसार रूसले ड्रोन र गोलाबारी प्रयोग गरी आवासीय भवन, सवारी साधन र पूर्वाधारमा क्षति पुर्‍याएको हो।त्यस्तै, दक्षिणी युक्रेनको ओडेसा क्षेत्रमा ऊर्जा पूर्वाधारमा भएको आक्रमणका कारण १ हजारभन्दा बढी घरधुरी विद्युत्‌विहीन भएका छन् । यसअघि पनि रुसी सेनाले चेरनोबिल नजिकको आणविक इन्धन भण्डारण केन्द्रलाई लक्षित गरेको बताइएको थियो।

युक्रेनले पनि रुस नियन्त्रित क्रिमिया क्षेत्रमा ड्रोन आक्रमण गरेको छ, जसमा रेलका एक सहायक चालकको मृत्यु भएको र चालक घाइते भएको बताइएको छ। रुसको भोल्गोग्राद क्षेत्रमा ऊर्जा पूर्वाधारमाथि लक्षित ड्रोन आक्रमण रोकिएको दाबी गरिएको छ । त्यस क्रममा खसेका भग्नावशेषले आगलागी गराएको भए पनि मानवीय क्षति नभएको जनाइएको छ। 

त्यस्तै, रुसको नोभोरोसिस्क बन्दरगाहमा ड्रोन आक्रमणपछि ठुलो आगलागी भएको छ । यी आक्रमणहरू युक्रेनले रुससँग प्रत्यक्ष युद्ध विराम वार्ता गर्ने प्रस्ताव अघि बढाइरहेको बेला भएका हुन्। युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरेको छ र पूर्ण युद्ध विरामका लागि तयार रहेको जनाएको छ ।

तर रुसले तत्काल यस्तो भेटको औचित्य नरहेको भन्दै अस्वीकार गरेको छ।

लन्डनमा भएको भेटपछि बेलायतका प्रधानमन्त्री किर स्टार्मर, जर्मनीका चान्सलर फ्रेडरिख मेख र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले जेलेन्स्कीको प्रत्यक्ष वार्ता प्रस्तावलाई समर्थन गरेका छ।