अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चलाई महान्यायाधिवक्ता मनोनयन गरेका छन् ।
उनको नाम अनुमोदनका लागि ट्रम्पले सोमबार अमेरिकी सिनेटमा नाम पठाएका हुन् । टड ब्लान्चले यसअघि ट्रम्पका व्यक्तिगत वकिलका रूपमा काम गरेका थिए
उनी अप्रिलमा पदबाट हटाइएकी पूर्व महान्यायाधिवक्ता पाम बोन्डीका उत्तराधिकारी बन्नेछन् । अब उनको नियुक्तिका लागि सिनेटको अनुमोदन प्रक्रिया सुरु हुनेछ । यसलाई अनुमोदन गर्न सिनेटमा साधारण बहुमत मत आवश्यक पर्नेछ ।
सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रासलेले ब्लान्चको समर्थन गर्ने र उनको मनोनयनलाई छिटो अघि बढाउने सङ्केत दिएका छन् । ग्रासलेले ब्लान्च योग्य उम्मेदवार भएको र देशमा कानुनी शासन पुनर्स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन् । यद्यपि केही रिपब्लिकन सांसदहरूले भने उनको भूमिकाबारे थप स्पष्टीकरण मागेका छन् । सिनेटर जोन कोर्निनले विशेषगरी एन्टी–वेपनाइजेसन कोषमा ब्लान्चको संलग्नताबारे प्रश्न उठाउने बताएका छन् ।