जर्मनी र फ्रान्सका नेताहरूले युरोपको सबैभन्दा महत्त्वाकाङ्क्षी रक्षा कार्यक्रममध्ये एक मानिएको नयाँ पुस्ताको लडाकु विमान बनाउने परियोजना अन्त्य गर्ने निर्णय गरेका छन् । परियोजनामा संलग्न रक्षा उद्योग कम्पनीहरूबिच लामो समयदेखि जारी विवाद समाधान हुन नसकेपछि दुवै देशले यो कदम चालेका हुन् ।
जर्मन चान्सलर फ्रेडरिक मर्ख र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले गत साता मोन्टेनेग्रोमा आयोजित युरोपेली संघ–पश्चिमी बाल्कन शिखर सम्मेलनका क्रममा उक्त परियोजनाबारे छलफल गरेका थिए । जर्मन अधिकारीहरूका अनुसार परियोजनामा संलग्न कम्पनीहरूबिच महिनौँदेखि जारी गतिरोध अन्त्य हुने सम्भावना नदेखिएपछि मर्खले म्याक्रोँलाई संयुक्त लडाकु विमान निर्माण योजना अगाडि नबढाउन सुझाव दिएका थिए ।
फ्रान्सेली राष्ट्रपतिको कार्यालयले पनि दुवै नेताबिच यस विषयमा लामो छलफल भएको पुष्टि गरेको छ । कार्यालयका अनुसार जर्मनी र स्पेनको प्रतिनिधित्व गर्ने युरोपेली एयरोस्पेस कम्पनी एयरबस तथा फ्रान्सको डासो एभिएसनबीच सहमति हुन नसकेकोमा दुवै पक्षले खेद व्यक्त गरेका छन् ।
यो परियोजना युरोपको सबैभन्दा ठुलो रक्षा कार्यक्रमको मुख्य आधार मानिन्थ्यो । करिब १०० अर्ब युरो लागत अनुमान गरिएको यस योजनामा स्पेन पनि सहभागी थियो ।