सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख

आप्रवासन आप्रवासन

 

प्योङयाङमा सी चिनपिङको भव्य स्वागत गरिएको यस भ्रमणबाट कुनै ठोस सम्झौता सार्वजनिक नभए पनि यसको महत्त्वलाई किमले विशेष रूपमा उल्लेख गरेका छन् ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार उनले सीले यस वर्षको पहिलो राजकीय भ्रमणका लागि प्योङयाङ रोज्नु दुई देशीय सम्बन्धलाई ‘ठूलो महत्त्व’ दिएको संकेत भएको बताए ।

यो भ्रमण त्यस्तो समयमा भएको हो जब बेइजिङले आफ्नो रणनीतिक रूपमा महत्त्वपूर्ण तर अप्रत्याशित साझेदारमाथि प्रभाव र सम्बन्ध पुनः स्थापित गर्ने प्रयास गरिरहेको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरिया रुससँग अझ नजिकिएको छ । यस भ्रमणमार्फत राष्ट्रपति सीले किमलाई उनको प्रमुख सहयोगी चीन नै हो भन्ने कुरा स्मरण गराएका छन् ।

किमका लागि भने अमेरिकी नेता डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीले भेटघाट गरेको केही सातापछि यति उच्चस्तरीय अतिथि आफ्नो देशमा आउनु अन्तर्राष्ट्रिय प्रतिबन्धहरू जारी रहे पनि आफूसँग प्रभावशाली मित्रहरू छन् भन्ने सन्देश दिने अवसर बनेको छ ।

सोमबार साँझ आयोजित भोजमा सीले चीन र उत्तर कोरियाबीचको सम्बन्धको प्रशंसा गर्दै दुवै देश ‘पहाड र नदीले जोडिएका तथा साझा भाग्य बाँडेका’ राष्ट्र भएको बताए, चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । किमले पनि यसमा सहमति जनाउँदै चीनसँगको मित्रतालाई उच्च प्राथमिकतामा राखिरहने र बेइजिङको ‘एक चीन’ सिद्धान्तलाई समर्थन गर्ने प्रतिबद्धता दोहो¥याए ।

अन्तर्राष्ट्रिय परिस्थितिमा उथलपुथल भइरहेका बेला यो भ्रमणले दुई देशबीचको मित्रतालाई थप मजबुत बनाएको कुरा किमले बताएका छन् ।

सीले आफू र किमबीच ‘अहिलेको समयलाई आत्मसात गर्दै’ उच्चस्तरीय र जनस्तरका सम्बन्धहरूलाई अझ गहिरो बनाउने विषयमा ‘महत्त्वपूर्ण सहमति’ भएको बताए । दुवै नेताले यस वर्ष चीन र उत्तर कोरियाबीचको रक्षा सम्झौताको ६५औँ वार्षिकोत्सव परेको पनि उल्लेख गरे । यो चीनले कुनै पनि देशसँग गरेको एकमात्र रक्षा सम्झौता हो ।

उत्तर कोरियाका लागि चीन सबैभन्दा महत्त्वपूर्ण राजनीतिक र आर्थिक साझेदार हो । आणविक हतियार कार्यक्रमका कारण लगाइएका कडा अन्तर्राष्ट्रिय प्रतिबन्धबीच चीन उसका लागि जीवनरेखा समान बनेको छ ।

तर उत्तर कोरिया चीनमा निर्भर भए पनि र गठबन्धनमा कनिष्ठ साझेदारको भूमिकामा रहे पनि यस भ्रमणमा अब बिस्तारै उ पनि हाबी हुदैँ गएको देखियो । सोमबारको वार्ताबारे सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणहरूमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको विषय उल्लेख गरिएको थिएन । यद्यपि यो अप्रत्याशित भने थिएन ।

हालका वर्षहरूमा चीनले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने आफ्नो माग उल्लेखनीय रूपमा कम गरेको छ र सार्वजनिक रूपमा यो विषय उठाउन पनि छाडेको छ । सीको भ्रमणमा उनका सरकारका केही प्रमुख व्यक्तित्वहरू पनि सहभागी थिए । तीमध्ये उनका प्रमुख सहयोगी काई ची, रक्षामन्त्री दोङ जुन, विदेशमन्त्री वाङ यी तथा वाणिज्यमन्त्री वाङ वेन्ताओ रहेका थिए ।

मंगलबार दुवै नेताले कोरियाली युद्धमा लडेका चिनियाँ सैनिकहरूको सम्झनामा बनाइएको फ्रेन्डसिप टावरको भ्रमण गरे । उनीहरूले प्योङयाङको उच्चस्तरीय क्याडर विद्यालयमा पुगेर सदाबहार मित्रताको प्रतीकस्वरूप एउटा धुपीको बिरुवा पनि रोपे, सिन्ह्वाले जनाएको छ ।

प्योङयाङ बसाइका क्रममा सीलाई शहरको केन्द्रमा रहेको विशेष अतिथि निवास कुम्सुसान स्टेट गेस्ट हाउसमा राखिएको थियो । सन् २०१९ मा सीको पहिलो राजकीय भ्रमणका लागि निर्माण गरिएको बताइने उक्त अतिथि गृहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकासेन्कोजस्ता विदेशी नेताहरूलाई पनि आतिथ्य दिइएको छ ।

आफ्नो सम्बोधनमा सीले यो भ्रमणले ‘दुवै देशको समाजवादी अभियानका लागि संयुक्त रूपमा अझ उज्यालो भविष्यको सुरुआत गर्ने’ आशा व्यक्त गरे । यही विषय चीनका लागि संवेदनशील बिन्दु पनि बनेको छ । बेइजिङले लामो समयदेखि उत्तर कोरियालाई चीनकै मोडेल अपनाउन जोड दिदै आएको छ । उ चाहन्छ कि उत्तर कोरियाले पनि एकदलीय शासन कायम राख्दै बजार, वैदेशिक लगानी र अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने नीति लियोस् ।

 तर, किमले भने विकासको कुनै स्पष्ट मोडलबारे उल्लेख गरेनन् । उत्तर कोरियाले अझै पनि चीनको विकास अनुभवबाट सिक्न अस्वीकार गरिरहेको छ ।