गत नोभेम्बरमा हङकङस्थित वाङ फुक कोर्ट आवासीय परिसरमा भएको विनाशकारी आगलागी घटनासम्बन्धी मुद्दामा दुई कम्पनी र सात जनाविरुद्ध विभिन्न आपराधिक अभियोग दायर गरिएको छ ।
हङकङका अधिकारीहरूले उनीहरूमाथि मानव हत्या, ठगीको षड्यन्त्र, न्यायिक प्रक्रियामा बाधा पुर्याउने प्रयास तथा कर छली लगायत २५ वटा अभियोग लगाएका छन् । उक्त आगलागीमा १६८ जनाको मृत्यु भएको थियो । यो घटना हङकङमा पछिल्लो ७० वर्षभन्दा बढी अवधिमा भएको सबैभन्दा घातक आगलागी मानिएको छ ।
अधिकारीहरूका अनुसार परियोजनामा संलग्न परामर्शदाता कम्पनी, मुख्य निर्माण ठेकेदार कम्पनी तथा नवीकरण कार्यमा संलग्न केही व्यक्तिविरुद्ध अभियोग दायर गरिएको हो ।
अभियुक्तहरूमा दुवै कम्पनीका निर्देशक तथा परामर्शदाता कम्पनीका आधिकारिक निरीक्षकसमेत रहेका छन् । तर अधिकारीहरूले हालसम्म कम्पनी र व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनन् । आगलागी भएको केही समयपछि हङकङको भ्रष्टाचार नियन्त्रण निकायले भवनको संरचनात्मक इन्जिनियरिङ परामर्शदाता कम्पनी विल पावर आर्किटेक्टका दुई निर्देशकलाई पक्राउ गरेको थियो ।
त्यसपछि यस वर्षको मार्चसम्म प्रहरीले मानव हत्या र ठगीसम्बन्धी आरोपमा अरू ३८ जनालाई पक्राउ गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण निकायले छुट्टै अनुसन्धानअन्तर्गत परामर्शदाता, ठेकेदार तथा आवासीय परिसरका स्वामित्व समितिका सदस्यसहित २३ जनालाई पनि पक्राउ गरेको थियो ।
अधिकारीहरूले आगलागीको कारण, भवन नवीकरणका क्रममा अपनाइएका सुरक्षा मापदण्ड तथा सम्भावित अनियमितताबारे विस्तृत अनुसन्धान जारी रहेको बताएका छन् ।