इन्डोनेसियाको सुमात्रा टापुमा लगातार चार दिनसम्म परेको अत्यधिक वर्षा र त्यसपछि आएको पहिरोले विश्वकै सबैभन्दा संकटग्रस्त बाँदर प्रजाति तापनुली ओराङउटानलाई विलुप्तिको थप नजिक पुर्याएको नयाँ अध्ययनले देखाएको छ ।
अनुसन्धानअनुसार, सन २०२५ को नोभेम्बरमा आएको भीषण मौसमीय प्रकोपका कारण ५८ वटा तापनुली ओराङउटान मरेका छन् । यी ओराङउटानको संख्या करिब ८०० थियो । अर्थात् यी घटनामा ७ प्रतिशत ओराङउटान मरेका छन् ।
अध्ययनका लेखकहरूका अनुसार यो अनुमान पनि निकै सावधानीपूर्वक गरिएको हो । वर्षाले वनको माथिल्लो भाग क्यानोपीमा पुर्याएको क्षति तथा खाद्य स्रोतमा आएको कमीलाई यसमा समावेश गरिएको छैन ।
नोभेम्बरको अन्त्यतिर आएको सेन्यार चक्रवातले सुमात्रामा ठुलो विनाश मच्चाएको थियो । यस प्राकृतिक विपत्तिले दक्षिणपूर्वी एसियाभर १,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो, जसलाई सन २०२५ को सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार यस्ता चरम वर्षाका घटनाहरूले प्रत्यक्ष रूपमा ओराङउटानको अस्तित्वलाई खतरा पुर्याउन सक्छन् । आँधीपछिका दिनहरूमा तापनुली ओराङउटानको देखापर्ने संख्या अचानक घटेपछि उनीहरू बाढी र पहिरोमा परेका हुनसक्ने आशङ्का गरिएको थियो ।
अध्ययनका सहलेखक एरिक मेइजाड ले यसअघि करिब ३५ वटा ओराङउटान मरेको अनुमान गरेका थिए ।