अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा

आप्रवासन आप्रवासन

 

 अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले चिनियाँ गुप्तचर एजेन्टहरूले अमेरिकी वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूलाई भर्ती गर्न प्रयोग गरेको आरोप लगाइएका १२ भन्दा बढी वेबसाइटहरू नियन्त्रणमा लिएको छ ।

एफबीआईले अदालतमा पेस गरेको पत्रअनुसार ती वेबसाइटहरू नक्कली परामर्श कम्पनीका रूपमा सञ्चालन गरिएका थिए । तिनको उद्देश्य अमेरिकी सुरक्षा अनुमति भएका व्यक्तिहरूलाई आर्थिक प्रलोभन दिएर संवेदनशील तथा सम्भावित रूपमा गोप्य जानकारी प्राप्त गर्नु थियो ।

ती वेबसाइटहरूमा अन्तर्राष्ट्रिय मामिला विश्लेषक, रक्षा विश्लेषक, पूर्वसैनिकका लागि जागिर तथा विभिन्न परामर्श सेवासम्बन्धी पदहरूको विज्ञापन राखिएको थियो । एफबीआईका अनुसार कम्तीमा सात जना व्यक्तिलाई यस्ता वेबसाइटमार्फत भर्ती गरिएको थियो । उनीहरूलाई चीन–अमेरिका सम्बन्ध, इरान, तथा इजरायल–प्यालेस्टाइन युद्धजस्ता विषयमा प्रतिवेदन तयार गर्न लगाइएको थियो । तर त्यसक्रममा भित्री तथा सार्वजनिक नभएका विशेष जानकारी माग्ने प्रयाससमेत गरिएको थियो ।

एफबीआईले यो अभियान सञ्चालन गर्ने व्यक्तिहरू विदेशमा बसेको र उनीहरूले जानेर वा नजानेर चिनियाँ सरकारका तर्फबाट काम गरिरहेको हुन सक्ने विश्वास व्यक्त गरेको छ । यद्यपि अमेरिकी न्याय विभागका अनुसार वेबसाइट सञ्चालनकर्ताहरूले कुनै विदेशी सरकारसँग सम्बन्ध रहेको आरोप अस्वीकार गरेका छन् । अनुसन्धानअनुसार वेबसाइटहरूको खर्च क्रिप्टोकरेन्सी तथा विदेशी बैंक खातामार्फत तिरिएको थियो ।

र्ती गरिएका व्यक्तिहरूलाई पनि विदेशस्थित खाताबाट अमेरिकास्थित बैंक खातामा रकम पठाएर भुक्तानी गरिएको एफबीआईले जनाएको छ । हालसम्म उक्त योजनामार्फत कुनै गोप्य सरकारी दस्ताबेज वा वर्गीकृत सामग्री चुहिएको थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन । एफबीआईका अनुसार योजनाका सञ्चालकहरूले नक्कली पहिचान बनाउन कृत्रिम बौद्धिकताबाट द्वारा तयार गरिएका तस्बिर र भिडियो प्रयोग गरेका थिए ।

उनीहरूले अनुसन्धान प्रतिवेदनका लागि असामान्य रूपमा ठूलो रकम प्रस्ताव गरेर संवेदनशील जानकारीमा पहुँच हासिल गर्ने प्रयास गरेको पनि आरोप छ । गत वर्ष अमेरिकी नौसेना आपराधिक अनुसन्धान सेवाले पनि विदेशी गुप्तचर संस्थाहरूले संघीय कर्मचारीहरूलाई लक्षित गरिरहेको चेतावनी दिएको थियो । प्रतिवेदनअनुसार कम्तीमा एक विदेशी गुप्तचर अधिकारीले आफ्नो सहयोगीलाई व्यावसायिक सामाजिक सञ्जाल लिङ्क्डइन मा कम्पनी प्रोफाइल बनाएर जागिरको विज्ञापन राख्न निर्देशन दिएका थिए ।

विशेष गरी ‘कामको खोजीमा छु’ भन्ने सङ्केत दिएका सरकारी कर्मचारीहरूलाई लक्षित गरिएको थियो । एफबीआईका अनुसार भर्ती प्रक्रिया लिङ्क्डइन, अपवर्कलगायत रोजगारी खोज्ने वेबसाइटहरूमार्फत सञ्चालन गरिएको थियो । अनुसन्धानले वेबसाइट सञ्चालकहरूले वास्तविक विदेशी कम्पनीहरूको विवरण र तस्वीर चोरी गरेर आफ्नो वेबसाइटमा प्रयोग गरेको देखाएको छ । अझ रोचक कुरा, कब्जा गरिएका वेबसाइटहरूमध्ये एउटामा हलिउड कमेडी चलचित्र एन्करम्यानका काल्पनिक पात्रहरूको प्रशंसापत्रसमेत राखिएको भेटिएको छ ।