बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड

आप्रवासन आप्रवासन

 

थाइल्याण्डको एक अदालतले सन २०१५ मा राजधानी बैंककको प्रसिद्ध धार्मिक स्थल नजिक भएको बम विस्फोटको घटनामा दुई पुरुषलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

यो घटना थाइल्याण्डको इतिहासकै सबैभन्दा घातक आतङ्कवादी हमला मानिन्छ । २०१५ को अगस्ट १५ मा बैंककको केन्द्रमा रहेको इरेवान मन्दिरनजिक शक्तिशाली बम विस्फोट भएको थियो ।

उक्त स्थान विदेशी पर्यटकहरूबिच अत्यन्त लोकप्रिय धार्मिक स्थल हो । विस्फोटमा २० जनाको मृत्यु भएको थियो भने १२० भन्दा बढी घाइते भएका थिए ।

अदालतले चिनियाँ उइगुर समुदायका दुई पुरुषलाई उक्त हमलाको योजना बनाउने र विस्फोट गराउने जिम्मेवार ठहर गरेको छ । तर दुवैले आरोप अस्वीकार गर्दै आफूहरू निर्दोष भएको दाबी गरेका थिए । 

घटनाको अनुसन्धान र दशक लामो अदालत प्रक्रियामाथि विभिन्न प्रश्न उठेका छन् । प्रारम्भिक अनुसन्धानमा सुरक्षा कमजोरीहरू देखिएको बताइएको छ । घटनास्थलका धेरै सिसिटिभी क्यामेरा काम नगरेको पाइएपछि अनुसन्धान प्रभावित भएको थियो ।

सरकारले पर्यटनमा असर नपरोस् भनेर घटनास्थल छिट्टै सफा गर्न आदेश दिएको थियो, जसले प्रमाण सङ्कलनमा असर पारेको आलोचकहरूको भनाइ छ । 

विस्फोटपछि उद्धारकर्ताहरूले घाइतेहरूको उपचार र मृतकको पहिचानमा काम गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थल अत्यन्त भयावह र अस्तव्यस्त थियो। सुरुवाती चरणमा प्रहरीले घटनालाई आतङ्कवादी आक्रमण नभएको दाबी गरेको थियो।

तर पछि विभिन्न भिडियो र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको थियो । त्यसको केही हप्तामै दुई जनालाई पक्राउ गरिएको थियो, जसलाई अहिले अदालतले दोषी ठहर गरेको हो।