राष्ट्रिय गुप्तचर प्रमुखमा ट्रम्पले गरे जे क्लेटनलाई मनोनयन

आप्रवासन आप्रवासन

 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कको दक्षिणी जिल्लाका संघीय सरकारी वकिल जे क्लेटनलाई राष्ट्रिय गुप्तचर निर्देशक (डीएनआई) पदका लागि मनोनयन गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा लेख्दै क्लेटन कानुनी क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको बताएका छन् । 

उनले अमेरिकी सिनेटलाई उनको नियुक्ति छिट्टै अनुमोदन गर्न आग्रह गरेका छन् । क्लेटन यसअघि ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (सेक)का अध्यक्ष थिए । हाल उनी न्यूयोर्कको दक्षिणी जिल्लाका अमेरिकी सरकारी वकिलका रूपमा कार्यरत छन् ।

क्लेटनको मनोनयन ट्रम्पले यसअघि संघीय आवास वित्त एजेन्सीका प्रमुख बिल पुल्टेलाई अन्तरिम राष्ट्रिय गुप्तचर प्रमुख बनाउने निर्णयपछि उत्पन्न विवादका बीच आएको हो । हालकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले पद छाड्ने तयारी गरिरहेकी छिन् । 

त्यसपछि पुल्टेलाई अन्तरिम जिम्मेवारी दिने ट्रम्पको निर्णयले रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदहरूबाट आलोचना खेपेको थियो । आलोचकहरूको भनाइमा पुल्टेसँग राष्ट्रिय सुरक्षा वा गुप्तचर क्षेत्रको कुनै उल्लेखनीय अनुभव छैन ।

पुल्टेको नियुक्तिका कारण अमेरिकी सरकारको महत्वपूर्ण गुप्तचर निगरानी अधिकारसम्बन्धी कानुन एफआईएसए (विदेशी गुप्तचर निगरानी ऐन)को म्याद थप्ने प्रयास पनि प्रभावित भएको छ । डेमोक्रेट सांसदहरूले पुल्टेलाई हटाएर योग्य अन्तरिम प्रमुख नियुक्त नगरेसम्म एफआईएसएको म्याद थप्न समर्थन नगर्ने चेतावनी दिएका छन् । सिनेटमा डेमोक्रेट दलका नेता चक शुमरले ट्रम्पले प्रतिनिधिसभा बिदामा गएपछि मात्रै क्लेटनको नाम किन सार्वजनिक गरे भन्दै प्रश्न उठाएका छन् । उनले पुल्टे हट्नैपर्ने भनेका छन् ।

सिनेट गुप्तचर समितिका वरिष्ठ डेमोक्रेट सदस्य मार्क वार्नरले पनि ट्रम्पले साँच्चै नियुक्ति अनुमोदन गराउन चाहेको भए एक दिनअघि नै मनोनयन गर्नुपर्ने भनेका छन् । विवादका बाबजुद ट्रम्पले पुल्टेलाई अन्तरिम गुप्तचर प्रमुख बनाउने निर्णय कायम राख्ने संकेत दिएका छन् । उनले पत्रकारहरूसँग कुरा गर्दै पुल्टे केही समयका लागि मात्रै उक्त जिम्मेवारीमा रहने बताएका छन् । स्रोतहरूका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूसँग आफू डेमोक्रेटहरूको दबाबमा नपर्ने र रिपब्लिकनहरूकै सहयोगमा एफआईएसए नवीकरणको उपाय खोज्न सकिने बताएका छन् ।

सूत्रहरूका अनुसार अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए)का निर्देशक जोन रैटक्लिफले ट्रम्पलाई क्लेटनको नाम सिफारिस गरेका थिए । ट्रम्पले गुप्तचर समुदायभन्दा बाहिरबाट व्यक्ति ल्याउने नीति अपनाउँदै आएका छन् । उनले राष्ट्रिय गुप्तचर कार्यालयलाई सानो बनाउने तथा डीप स्टेटलाई पूरै उखेलेर फ्याक्ने उद्देश्य राखेको बताइन्छ । हालैका हप्ताहरूमा क्लेटनले अन्तर्वार्तामा ट्रम्प प्रशासनका केही नीतिहरूको सार्वजनिक रूपमा समर्थन गरेका थिए, जसले उनको मनोनयनप्रति थप राजनीतिक चासो बढाएको छ ।