आगामी ६० दिनमा आणविक कार्यक्रम र प्रतिबन्धबारे वार्ता हुने

आप्रवासन आप्रवासन

 

 इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिका र इरानबीचको सम्झौतालाई अन्तिम रूप दिइसकेको र यसको औपचारिक हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डको जेनेभामा हुने बताएका छन् ।

 इरानले अमेरिकाप्रति अझै पूर्ण विश्वास नगरेको स्पष्ट पार्दै उनले सम्झौताअनुसार अमेरिकाले गर्ने प्रतिबद्धताहरूको कार्यान्वयनलाई नजिकबाट निगरानी गरिने इरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै बताए ।

घरिबाबादीले इजरायलले बेरुतमा गरेको आक्रमणपछि इरानले इजरायल र अमेरिकाविरुद्ध दिएको कडा चेतावनीले पनि सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन र बाँकी केही विवाद समाधान गर्न सहयोग पुगेको दाबी गरे । 

उनका अनुसार सम्झौतापछि सुरु हुने वार्ता ६० दिनभित्र सम्पन्न गर्ने इरानको अपेक्षा छ । यस अवधिमा इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउने विषय तथा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रस्ताव र निर्णयहरू अन्त्य गर्ने विषय प्रमुख एजेन्डा हुने बताइएको छ ।

 युद्धपछिको आर्थिक पुनर्निर्माणसम्बन्धी विषयहरू पनि यही ६० दिने वार्तामा समेटिने उनले बताए ।