अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु

आप्रवासन आप्रवासन

 

अस्ट्रेलिया । गाजामा मानवीय सहायता पुर्‍याउन गएको जहाजका अभियन्तामाथि इजरायली सुरक्षाकर्मीले बलात्कार, यातना र दुर्व्यवहार गरेको आरोपबारे अस्ट्रेलियाली संघीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अस्ट्रेलियाली प्रहरीले मे महिनामा गाजातर्फ जाँदै गरेको ‘ग्लोबल सुमुद फ्लोटिला’का चार महिला कार्यकर्ताले अस्ट्रेलियाली विदेशमन्त्री पेनी वङ तथा प्रहरी अधिकारीहरूसँग भेट गरेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको हो ।

ग्लोबल सुमुद फ्लोटिलामा सहभागी जुलियट लामोन्ट, नेभ ओ’कनर, जेम्मा ओ’टुल र लुका लामोन्टलाई मे महिनामा इजरायली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । उनीहरूका अनुसार गाजातर्फ राहत सामग्री लिएर जाँदै गरेको जहाजलाई १८ मेमा रोकेर सयौं स्ययंसेवकसहित ११ अस्ट्रेलियाली नागरिकलाई हिरासतमा लिइएको थियो ।

विदेशमन्त्री वङसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै स्वयंसेवक जुलियट लामोन्टले आफूहरूको अपहरण, दुर्व्यवहार, बलात्कार र यातनासम्बन्धी विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताइन् । 

उनका अनुसार अस्ट्रेलियाली अधिकारीहरूले ती आरोपबारे स्वतन्त्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तिनले एक विज्ञप्ति जारी गर्दै समूहका प्रतिनिधिबाट प्राप्त आरोपहरूबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको र उपयुक्त समयमा थप जानकारी सार्वजनिक गरिने पनि एएफपीले बताएका छन् ।

सोमबार भएको भेट विदेशमन्त्री वङ र ती स्वयमसेवकबीचको पहिलो औपचारिक भेट थियो । वङको कार्यालयले जारी गरेको वक्तव्यमा उक्त भेटले स्वयमसेवकहरूका अनुभव प्रत्यक्ष रूपमा सुन्ने अवसर प्रदान गरेको उल्लेख गरिएको छ ।

वक्तव्यअनुसार विदेशमन्त्री वङले यी आरोपहरू इजरायली पक्षसमक्ष पटक–पटक उठाइसकेकी छन् र घटनाबारे स्वतन्त्र तथा पारदर्शी अनुसन्धान हुनुपर्ने अपेक्षा व्यक्त गरेकी छन् । साथै उनले इजरायली अधिकारीहरूको व्यवहारको निन्दा गर्दै यसअघि नै प्रतिबन्ध लगाइएका इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरको गतिविधिप्रति पनि आपत्ति जनाएकी छन् ।

बेन–गभिरले सामाजिक सञ्जालमा हात पछाडि बाँधेर घुँडा टेकाइएका स्वयंसेवकहरूलाई जिस्क्याइरहेको भिडियो सार्वजनिक गरेपछि व्यापक आलोचना भएको थियो ।

यता अष्ट्रेलियास्थित इजरायली दूतावासले भने आरोपहरू अस्वीकार गरेको छ । दूतावासले ती कार्यकर्ताहरूलाई ‘व्यावसायिक फण्डाबाजी’ भन्दै उनीहरूले लगाएका आरोपहरू पहिले नै झुटो सावित भइसकेको दाबी गरेको छ ।

दूतावासका अनुसार शारीरिक तथा यौन दुर्व्यवहारसम्बन्धी आरोप पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण हालसम्म प्रस्तुत गरिएको छैन र दूतावाससमक्ष कुनै औपचारिक उजुरी पनि दर्ता गरिएको छैन ।

घटनाबारे अस्ट्रेलियाली प्रहरीको अनुसन्धान जारी रहेकाले आरोपहरूको सत्यता सम्बन्धी अन्तिम निष्कर्ष आउन बाँकी रहेको छ ।