बेलायती सुरक्षाबलले रुसी तेल बोकेको र प्रतिबन्ध उल्लङ्घन गरेको आशङ्का गरिएको एउटा छद्म नामधारी तेल ट्याङ्कर नियन्त्रणमा लिएका छन् । प्रधानमन्त्री किर स्टार्मरले यसलाई युक्रेन युद्धका लागि आर्थिक स्रोत जुटाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रयासमाथिको महत्त्वपूर्ण प्रहार बताएका छन् । ‘यो सफल कारबाहीले रुसमाथि अर्को ठुलो चोट पुर्याएको छ र पुटिनको युद्धलाई सहयोग गर्नेहरूलाई लुक्न नदिने हाम्रो प्रतिबद्धता देखाएको छ,’ स्टार्मरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
स्मिर्टाेस नामको तेल ट्याङ्करले करिब सात लाख ब्यारेल रुसी तेल बोकेको थियो । क्यामरुनको झण्डामुनि सञ्चालन भइरहेको उक्त जहाज जुन ५ मा रुसको उस्त–लुगा बन्दरगाहबाट इजिप्टको पोर्ट सइदतर्फ जाँदै थियो । बेलायती रक्षा मन्त्रालयका अनुसार आइतबार बिहानै रोयल मरिन्स कमान्डो र राष्ट्रिय अपराध एजेन्सी (एनसीए)का अधिकारीहरूले हेलिकप्टरबाट डोरी झारेर जहाजमा प्रवेश गरेका थिए । कारबाहीमा युद्धपोत, सैन्य विमान तथा अन्य नौसैनिक साधन पनि परिचालन गरिएको थियो ।
कारबाहीपछि प्रतिबन्धसम्बन्धी अपराधको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा रहेका २४ जना जर्जियाली र भारतीय चालकदल सदस्य भने जहाजमै रहेका छन् । छ घण्टा लामो अभियानपछि ट्याङ्करलाई डोर्सेट तट नजिक नियन्त्रणमा राखिएको छ । बेलायती अधिकारीहरूले वातावरणीय वा सुरक्षा जोखिमबारे निगरानी जारी राख्ने बताएका छन् ।
पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गरिने पुराना ट्याङ्करहरूको सञ्जाल छद्म तेल ट्याङ्कर हुन् । रुसले सन २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि पश्चिमी देशहरूले रुसी तेल निर्यातमा कडा प्रतिबन्ध लगाएका थिए । यस्ता जहाजहरूले बारम्बार नाम परिवर्तन गर्ने, स्वामित्व लुकाउने, फरक देशको झण्डा प्रयोग गर्ने तथा अस्पष्ट कम्पनीमार्फत सञ्चालन हुने जस्ता उपाय अपनाएर प्रतिबन्ध छल्ने प्रयास गर्छन् ।
बेलायतले प्रत्यक्ष रूपमा रुसी छद्म तेल ट्याङकरसम्बन्धित जहाजभित्र घुसेर जहाज नियन्त्रणमा लिएको यो पहिलो घटना हो । सुरक्षा विश्लेषकहरूका अनुसार यसले रुसको तेल व्यापार पूर्ण रूपमा रोक्ने छैन । तर प्रतिबन्ध कार्यान्वयनमा पश्चिमी देशहरू अझ आक्रामक बन्दै गएको स्पष्ट संकेत दिएको छ । कारबाहीपछि कम्तीमा छ वटा अन्य ट्याङ्करहरूले तत्काल इङ्लिस च्यानलबाट आफ्नो मार्ग परिवर्तन गरेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतलाई धन्यवाद दिँदै रुसको तेल बेडाविरुद्ध महत्त्वपूर्ण कदम चालेको बताएका छन् । रुसले भने घटनाबारे हालसम्म सार्वजनिक प्रतिक्रिया दिएको छैन । लन्डनस्थित सुरक्षा विश्लेषण संस्था सिबिलिनका रक्षा विश्लेषक अलेक्जेन्डर लर्डका अनुसार प्रतिबन्धले रुसको तेल व्यापार महँगो र जटिल बनाएको छ, तर पूर्ण रूपमा रोक्न सकेको छैन । ‘रुसले अझै पनि विशेषगरी भारत र चीनजस्ता देशहरूलाई छुट मूल्यमा ठुलो परिमाणमा तेल बेचिरहेको छ । प्रतिबन्धले समस्या त सिर्जना गरेको छ, तर तेल निर्यात रोकिएको छैन । त्यसैले रुस निरन्तर नयाँ उपाय खोज्दै प्रतिबन्ध छल्ने प्रयास गरिरहेको छ,’ उनले भने ।