अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौताले विश्व ऊर्जा आपूर्ति प्रणालीमा स्थिरता फर्किने आशा जगाएपछि अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।
सोमबारको कारोबारमा अमेरिकी सेयर बजारको प्रमुख सूचक एस एन्ड पी ५०० मा १.७ प्रतिशतको वृद्धि भएको छ । यससँगै उक्त सूचक आफ्नो इतिहासकै उच्च स्तर नजिक पुगेको छ ।
प्रविधि क्षेत्र केन्द्रित नास्डाक कम्पोजिट सूचक ३.१ प्रतिशतले उकालो लागेको छ । विशेषगरी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको सेयर मूल्य १९.६ प्रतिशतले बढेपछि नास्डाकलाई थप बल पुगेको विश्लेषकहरूले बताएका छन् । गत शुक्रबार स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो बजार प्रवेश गरेको थियो, जसले कम्पनीका प्रमुख एलन मस्कलाई विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका धनी बनाएको बताइएको छ ।
त्यस्तै, डाउ जोन्स इन्डस्ट्रियल एभरेज सूचक ०.९ प्रतिशतले बढ्दै नयाँ कीर्तिमानी उच्च स्तरमा बन्द भएको छ ।
ऊर्जा बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ । विश्व तेल मूल्यको प्रमुख सूचक ब्रेन्ट क्रुड फ्युचर्स करिब ५ प्रतिशतले घटेर प्रतिव्यारेल ८३ डलरभन्दा केही माथि पुगेको छ । यो अमेरिका–इरान संघर्ष सुरु भएयताकै सबैभन्दा न्यून मूल्य हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा तेहरानसँग भएको सम्झौतापछि एसियाली सेयर बजारहरूमा पनि उत्साह देखिएको छ । जापानको निक्केई २२५ सूचक पहिलो पटक ७० हजार अंक नाघे पनि पछि केही घट्दै ०.६ प्रतिशतको वृद्धिमा कारोबार गरिरहेको थियो ।
दक्षिण कोरियाको कोस्पी सूचक २.१ प्रतिशतभन्दा बढीले बढेको छ भने ताइवानको टाइएक्स ०.६ प्रतिशतले उकालो लागेको छ । यद्यपि हङकङको ह्याङ सेङ सूचक भने १.२५ प्रतिशतले घटेको छ ।
शिकागोस्थित सीपोर्ट रिसर्च पार्टनर्सका वरिष्ठ विश्लेषक जे गोल्डबर्गका अनुसार अमेरिका–इरान सम्झौताले लगानीकर्ताहरूको जोखिम मूल्याङ्कनलाई सकारात्मक दिशातर्फ मोडेको छ ।
उनले भने, ‘अहिलेसम्म कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानीको सम्भावना बलियो भए पनि युद्धको जोखिमले लगानीकर्ताहरूलाई सताइरहेको थियो । अब युद्ध अन्त्यतर्फ गएको संकेत मिलेपछि बजारमा जोखिम लिन तयार हुनेहरूको संख्या बढेको छ ।’
यद्यपि ऊर्जा बजार पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै केही महिना लाग्न सक्ने अनुमान गरिएको छ । होर्मुज जलडमरू क्षेत्रमा महिनौँदेखिको अवरोधका कारण सयौं जहाजहरू प्रतीक्षामा रहेका छन् । साथै, समुद्री मार्ग सुरक्षित रहेको सुनिश्चित गर्न पनि समय लाग्ने विज्ञहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय शिपिङ चेम्बरका अनुसार हाल करिब ५०० जहाज होर्मुज जलडमरू पार गर्ने प्रतीक्षामा छन् । सामान्य अवस्थामा विश्वको करिब पाँचौं हिस्सा कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्गबाट ढुवानी हुने गर्दछ ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरान सम्झौताले विश्व ऊर्जा बजारमा अनिश्चितता कम गरेसँगै अन्तर्राष्ट्रिय वित्तीय बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ ।