बेलायती प्रधानमन्त्री स्टार्मरलक्षित आगजनीमा रुसको हात

आप्रवासन आप्रवासन

 

बेलायतका प्रधानमन्त्री किर स्टार्मरसँग सम्बन्धित सम्पत्तिहरूमा गत वर्ष भएका आगजनी आक्रमणहरू रुसद्वारा सञ्चालित व्यापक तोडफोड तथा अस्थिरता फैलाउने अभियानको हिस्सा रहेको ब्रिटिस ब्रोडकास्टिङ कर्पाेरेसन (बीबीसी)ले आफ्नो अनुसन्धानमा दाबी गरेको छ । 

सोमबार आगजनी षड्यन्त्रमा दोषी ठहरिएका २२ वर्षीय युक्रेनी नागरिक रोमन लाव्रिनोभिचले प्रधानमन्त्री स्टार्मरसँग सम्बन्धित घरमा आगो लगाएका थिए । अनुसन्धानअनुसार उनलाई ‘ईएल’ नामले चिनिने एक अज्ञात सञ्चालकले निर्देशन दिएको थियो ।

बीबीसीले प्राप्त गरेका सन्देशहरूका अनुसार उक्त सञ्चालकले आक्रमणपछि लाव्रिनोभिचलाई ‘तिमीले बेलायतको अत्यन्त उच्च पदस्थ व्यक्तिको घरमा आक्रमण गर्यौ’ भन्दै शहर छोड्न पैसा दिने प्रस्ताव गरेका थिए । तर केही घण्टामै लाव्रिनोभिच पक्राउ परे । अनुसन्धानले ‘ईएल’को पहिचान २३ वर्षीय रुसी कूटनीतिज्ञ येभगेनी ल्युक्सिन हुन सक्ने संकेत दिएको छ । उनी रुसका एक वरिष्ठ सरकारी अधिकारीका छोरा रहेको तथा सूचना युद्धसम्बन्धी गतिविधिमा संलग्न व्यक्तिहरूसँग निकट सम्बन्ध रहेको दाबी गरिएको छ ।

बीबीसीका अनुसार रुसी सञ्चालकहरूले सामाजिक सञ्जाल र टेलिग्राममार्फत बेलायतमा नक्कली अतिदक्षिणपन्थी तथा मुस्लिम समूहहरू सिर्जना गरी तोडफोड, उक्साहट र सामाजिक विभाजन फैलाउने प्रयास गरेका थिए। साथै स्टार्मरमाथि भएका आगजनी आक्रमणहरूको उद्देश्यबारे झूटा सूचना पनि फैलाइएको थियो । रुसी दूतावासले भने यी आरोपहरू अस्वीकार गर्दै रुसलाई कुनै गैरकानुनी गतिविधिसँग जोड्ने प्रयास अस्वीकार्य रहेको जनाएको छ ।

दूतावासले रुसले बेलायत वा त्यहाँका नागरिकप्रति कुनै आक्रामक उद्देश्य नराखेको दाबी गरेको छ । यस घटनामा युक्रेनी मूलका रोमानियाली नागरिक स्तानिस्लाभ कार्पियुक पनि दोषी ठहरिएका छन भने पेत्रो पोचिनोक लाई अदालतले निर्दोष ठहर गरेको छ । आक्रमणहरूमा पहिले स्टार्मरको स्वामित्वमा रहेको टोयोटा गाडीमा आगजनी गरिएको थियो । त्यसपछि उनी पहिले बस्ने फ्ल्याटको प्रवेशद्वार र पछि भाडामा दिइएको उनको घरको प्रवेशद्वारमा पनि आगो लगाइएको थियो ।

मुद्दाको सुनुवाइमा प्रत्यक्ष आक्रमणकारीहरू दोषी ठहरिए पनि योजना बनाउने र निर्देशन दिने वास्तविक व्यक्तिको पहिचान तथा उद्देश्यबारे विस्तृत बहस अदालतमा गरिएको थिएन । बीबीसीको अनुसन्धानले भने घटनाको पृष्ठभूमिमा रुसी प्रभाव रहेको दाबी गरेको छ ।