रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी

आप्रवासन आप्रवासन

 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट हुने कच्चा तेल निर्यातमाथि लगाइएको प्रतिबन्ध चाँडै पुनः लागू गर्न सकिने चेतावनी दिएका छन् । इरानसँगको युद्धविरामपछि विश्व ऊर्जा आपूर्तिको अवस्था स्थिर भएकाले अब रुसमाथि दबाब बढाउने समय आएको सङ्केत उनले दिएका हुन् ।

फ्रान्समा भएको जी–सेभेनको शिखर सम्मेलनको छेकोमा बोल्दै ट्रम्पले भने– ‘अब तेल आपूर्ति सामान्य रूपमा बहिरहेको छ, त्यसैले हामी चाँडै प्रतिबन्ध पुनः लागू गर्न सक्षम हुनेछौँ,’ । 

स्टेट अफ होर्मुजबाट तेल आपूर्ति पुनः सुरु भएपछि बजारमा आपूर्तिको चिन्ता घटेको दाबी उनले गरेका छन् । यसअघि अमेरिकाले केही अवस्थामा समुद्रमा रहेका रुसी तेल ढुवानीमा अस्थायी छुट दिएको थियो । तर अब त्यो छुट हटाएर कडा प्रतिबन्ध लागू गर्ने सङ्केत ट्रम्पले दिएका छन् ।

तेल तथा ग्यास आम्दानी नै रुसको युद्ध खर्चको मुख्य स्रोत मानिन्छ । जी–सेभेन राष्ट्रहरूले पनि रुसको ऊर्जा आम्दानीलाई लक्षित गर्दै थप कडा कदम चाल्ने विषयमा छलफल गरिरहेका छन् । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–सेभेनका नेताहरू युक्रेनको समर्थनमा एकमत रहेको बताएका छन् । युक्रेन वार्ताका लागि तयार रहेको दाबी गर्दै रुसमाथि शान्तिप्रति वास्तविक इच्छाशक्ति नदेखाएको आरोप उनले लगाए ।

यसबिच, केही युरोपेली देशहरूले रुसमाथि अझ कडा प्रतिबन्धको माग गर्दै आएका छन् ।