अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने

आप्रवासन आप्रवासन

 

एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढाउने योजना बनाएको छ, किनभने उसले प्रयोग गर्ने मेमोरी चिपहरूको लागत तीव्र रूपमा बढेको छ, कम्पनीका प्रमुखले बताएका छन् ।

एप्पलका निवर्तमान प्रमुख कार्यकारी टिम कुकले द वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा मूल्य वृद्धि ‘अपरिहार्य’ भएको बताएका छन्, किनभने मेमोरी चिपसम्बन्धी अवस्था अस्थिर र अनिश्चित बनेको छ ।

उनले मूल्य कहिले बढ्ने वा कुन उत्पादनमा प्रभाव पर्ने हो भन्ने स्पष्ट गरेनन् । सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको आईफोन १८ मा पनि मूल्य बढ्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन ।

मेमोरी चिपहरू मोबाइल फोनजस्ता स्मार्ट उपकरणहरूको अत्यावश्यक भाग हुन्, तर कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र वृद्धिले पछिल्ला महिनाहरूमा यिनको मूल्य बढाइदिएको छ ।

कुक भन्छन्, ‘हामी लागत बढ्नबाट ग्राहकलाई जोगाउने प्रयास गरिरहेका छौँ, तर अवस्था असहनीय बनेको छ ।’

‘एकातिर माग बढिरहेको छ, अर्कोतिर आपूर्ति सीमित छ, र चिप उत्पादकहरूले ठुलो मूल्य वृद्धि गर्दैछन्,’ उनले भने ।

कुकले थपे कि सेप्टेम्बरमा १५ वर्षको कार्यकालपछि उनको स्थानमा जोन टर्नस एप्पलका सीईओ बन्नेछन् ।

‘उपभोक्ता उत्पादनका लागि मेमोरीको मूल्य र आपूर्ति फेरि सामान्य स्तरमा आउनु आवश्यक छ । यही नै मुख्य कुरा हो,’ उनले भने ।

यो टिप्पणी अन्य प्रविधि कम्पनीहरूले पनि चिप उद्योगमा देखिएको संकटबारे चेतावनी दिइरहेका बेला आएको हो ।

यसै महिना बीबीसीसँगको अन्तर्वार्तामा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टियसएमसि)ले लागत बढेमा मूल्य बढ्ने सम्भावना रहेको बताएको थियो ।

(टियसएमसि)ले एप्पल, एनभिडिया र एएमडी जस्ता कम्पनीहरूका लागि सबैभन्दा उन्नत चिपहरू उत्पादन गर्छ ।

यस वर्षको सुरुमा सामसुङले मेमोरी चिपको आपूर्ति अभावका कारण इलेक्ट्रोनिक उपकरणहरूको मूल्य बढ्ने अपेक्षा गरेको थियो ।

सामान्यतया सबैभन्दा सस्तो कम्प्युटर कम्पोनेन्ट मानिने ‘राम’को मूल्य अक्टोबर २०२५ पछि दोब्बरभन्दा बढी भएको छ ।

एआईको बढ्दो मागसँगै इरान युद्धले पनि सेमिकन्डक्टर उत्पादनमा प्रयोग हुने महत्त्वपूर्ण ग्यास हिलियमको विश्वव्यापी आपूर्तिमा असर पारेको छ, जसले चिप लागत थप बढाएको छ ।

गत सेप्टेम्बरमा सार्वजनिक भएको आईफोन १७ पछि एप्पलका उत्पादनहरू निकै लोकप्रिय बनेका छन् । २०२६ को पहिलो तीन महिनामा एप्पलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ । यसको पछाडी चीनमा बढिरहेको एप्पलको मागको पनि हात छ ।

यस वर्षको सुरुमा कम्पनीले आफ्नो म्याक मिनी कम्प्याक्ट कम्प्युटरको मूल्य करिब २०० अमेरिकी डलर (१५० पाउन्ड) ले बढाएको थियो ।