ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर

आप्रवासन आप्रवासन

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०२५ को जनवरीदेखि सुरु गरेको व्यापक निर्वासन अभियानपछि आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बरभन्दा बढी बढेको एक विश्लेषणले देखाएको छ । आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)का अभिलेखअनुसार ट्रम्प प्रशासनको अभियान सुरु भएयता हिरासतमा रहेका ५० जनाको मृत्यु भइसकेको छ ।

मृतकमध्ये एक भियतनामी नागरिक थिए, जसलाई मुटुसम्बन्धी समस्या थियो । उनको इन्डियानास्थित अधिकतम सुरक्षा कारागारलाई रूपान्तरण गरेर बनाइएको आप्रवासी हिरासत केन्द्रमा बेहोस भएर ढलेपछि मृत्यु भएको थियो । यस्तै, पेन्सिल्भेनियाको एक केन्द्रमा आत्महत्याको प्रयास गरिसकेका एक चिनियाँ नागरिक झुन्डिएको अवस्थामा भेटिएका थिए भने न्युयोर्कको एक केन्द्रमा मदिरा त्याग्दा उत्पन्न स्वास्थ्य समस्याबाट पीडित एक होन्डुरेली नागरिकको कोठामै मृत्यु भएको थियो ।

रोयटर्सले आईसीईको तथ्यांक विश्लेषण गर्दा सन २००९ देखि २०२४ सम्म औसतमा हिरासतमा रहेका प्रत्येक ३ हजार ८४८ व्यक्तिमध्ये एक जनाको मृत्यु हुने गरेको देखिएको छ । तर ट्रम्प दोहोर्‍याएर राष्ट्रपति बनेपछि यो दर बढेर प्रत्येक १ हजार ६३० बन्दीमा एक जनाको मृत्यु भएको छ । उक्त तथ्यांक सार्वजनिक अभिलेख मागमार्फत ‘डिपोर्टेसन डाटा प्रोजेक्ट’ले प्राप्त गरेको थियो भने त्यसलाई गैरनाफामूलक संस्था ‘भेरा इन्स्टिच्युट अफ जस्टिस’ले प्रशोधन गरेको थियो ।

विशेषज्ञहरूका अनुसार हिरासतमा हुने सबै मृत्यु प्रत्यक्ष रूपमा लापरबाही वा दुर्व्यवहारका कारण नहुन सक्छन् । तर मृत्यु दरमा आएको वृद्धि र अन्य तथ्यांकले निगरानी तथा स्वास्थ्य सेवाको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएको छ । रोयटर्सका लागि अभिलेख र पोस्टमार्टम प्रतिवेदन अध्ययन गरेका विशेषज्ञहरूमध्ये क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका चिकित्सक सञ्जय बसुले ५० मृत्युमध्ये २१ जना अचेत वा मृत अवस्थामा फेला परेको बताए । तीमध्ये १० वटा घटना आत्महत्यासँग सम्बन्धित थिए ।

उनका अनुसार यस्ता घटनाले मानसिक तथा शारीरिक स्वास्थ्य निगरानी कमजोर रहेको र आवश्यक उपचार समयमै उपलब्ध नभएको संकेत गर्न सक्छ । तथ्यांकअनुसार १६ जनाको मृत्यु हृदयाघात वा मुटुसम्बन्धी समस्याका कारण भएको थियो । चिकित्सकहरूले यसले प्रारम्भिक स्वास्थ्य परीक्षण तथा दीर्घरोग व्यवस्थापनमा कमजोरी देखाउन सक्ने बताएका छन् ।

स्वास्थ्य दृष्टिले जोखिममा रहेका व्यक्तिहरूलाई हिरासतमा राख्ने नीतिका कारण रोकथाम गर्न सकिने मृत्युहरूमा वृद्धि भएको कोलम्बिया विश्वविद्यालय इरभिङ मेडिकल सेन्टरकी सहायक प्राध्यापक शानेल डियाजले बताइन् । उनले भनिन्, ‘यो प्रणाली दीर्घकालीन स्वास्थ्य उपचार व्यवस्थापनका लागि बनाइएको होइन,’ उनका अनुसार मृत्यु हुनेमध्ये कम्तीमा दुई जना डिमेन्सियाका बिरामी थिए र उनीहरूबाट सार्वजनिक सुरक्षामा कुनै जोखिम थिएन ।

 

अमेरिकी गृह सुरक्षा मन्त्रालयले ट्रम्प प्रशासनकालीन मृत्यु घटनाका विस्तृत अभिलेख उपलब्ध गराएको छैन । मन्त्रालयले हिरासत केन्द्रहरूमा सुरक्षित, व्यवस्थित र मानवीय वातावरण सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । विभागकी प्रवक्ता लरेन बिसले जारी गरेको वक्तव्यमा हिरासतमा ल्याइएका व्यक्तिहरूलाई आगमनको क्षणदेखि नै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने र बसाइभर निरन्तर उपचार प्रदान गरिने दाबी गरेकी छिन् ।