युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झ‍र्‍यो तेल

आप्रवासन आप्रवासन

 

पश्चिम एसियामा युद्धविराम सम्झौता भएपछि कच्चा तेलको मूल्य लगातार घटिरहेको छ । बिहीबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ इरान युद्धको समयको उच्चस्तरभन्दा करिब ३५ अमेरिकी डलरले तल झरेको छ । बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य २ प्रतिशतले घटेर प्रतिब्यारेल करिब ७८ अमेरिकी डलरमा पुगेको छ । यो मूल्य युद्धको चरम समयको तुलनामा झण्डै ३५ डलर कम हो । मार्च ९ मा ब्रेन्टको भाउ प्रतिब्यारेल ११४ डलर ४४ सेन्टको उच्च बिन्दुसम्म पुगेको थियो ।

अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) पनि प्रतिब्यारेल करिब ७४ डलरमा पुगेको छ । यो तीन महीनायताकै न्यून हो । युद्धविराम सम्झौतापछि स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा सञ्चालनमा फर्किए तेलको मूल्य अझ घट्न सक्ने विश्लेषकहरूले भनिरहेका छन् । युद्ध सुरु हुनुअघि फेब्रुअरीको अन्त्यतिर ब्रेन्ट तेलको मूल्य करिब ७० डलर प्रतिब्यारेल थियो भने वर्षको सुरुवातमा यो मूल्य ६० डलरको हाराहारीमा थियो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले पश्चिम एशियाको शान्ति सम्झौता टिकाउ भए विश्व बजारमा तेल छेलोखेलो हुन सक्ने चेतावनी दिएको छ ।

आईईएका अनुसार यस्तो अवस्था बनेमा विभिन्न देशहरूले घट्दै गएका इन्धन भण्डार पुनः भर्न तथा रणनीतिक ऊर्जा सञ्चिति बढाउन अवसर पाउनेछन् । एजेन्सीले आफ्नो पछिल्लो प्रतिवेदनमा यस वर्ष विश्वव्यापी तेलको माग दैनिक ११ लाख ब्यारेलले घट्न सक्ने अनुमान गरेको छ ।

यो एक महिनाअघि गरिएको प्रक्षेपणभन्दा झण्डै तेब्बर कम हो । आईईएका अनुसार उच्च इन्धन मूल्य र आपूर्ति अवरोधका कारण विश्वभर ऊर्जा खपतमा कमी आउने सम्भावना बढेको छ ।